प्रतिनिधिसभामा आजदेखि बजेटमाथि छलफल हुने
काठमाडौँ, असार १ । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठकमा आजदेखि आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सुरु हुने भएको छ ।
बिहान ११ बजे संसद् भवन नयाँ वानेश्वरमा बस्ने बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने भएको हो ।
यस्तै राष्ट्रिय सभामा उत्पत्ति भएको “पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१” का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने कार्यसूचीमा उल्लेख छ ।
त्यस्तै राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२’ बैठकमा पेस गर्नेछन् ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित आगामी आर्थिक २०८२÷०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्ने संसद् सचिवालयले जानकारी दिएको छ ।
प्रतिनिधि सभा बैठकमा गृहमन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिसा प्रकरण छानबिन गर्न संसदीय समिति गठनको माग राख्दै रास्वपा र राप्रपाले भने विरोध जनाउँदै आएका छन् ।
प्रकाशित मिति: १ असार २०८२, आइतबार
















