भारतमा एकपछि अर्को हवाई दुर्घटना : प्लेन खसेको चौथो दिनमा हेलिकप्टर दुर्घटना, ७ जनाको मृत्यु



काठमाडौं । भारतको उत्तराखण्डमा पर्ने केदारनाथ धाम पुगेर फर्किएको हेलिकोप्टर दुर्घटना हुँदा चालकसहित ७ जनाको मृत्यु भएको छ ।

आर्यन कम्पनीको हेलिकप्टर खराब मौसमका कारण रुद्रप्रयाग जिल्लाको केदारघाटीको गौरीकुण्ड र त्रिजुगीनारायणको बीचमा दुर्घटनाग्रस्त भएको हो । मृतकहरूमा एक बालिका पनि रहेको बताइएको छ ।

उत्तराखण्ड नागरिक उड्डयन विकास प्राधिकरण (युसीएडीए) का अनुसार, हेलिकप्टर आइतबार बिहान ५ः३० बजे केदारनाथबाट गुप्तकाशीका लागि उडेको थियो । उडान भरेको केही समयपछि नै हेलिकप्टर दुर्घटनाग्रस्त भएको हो ।

जिल्ला विपद् व्यवस्थापन अधिकारी नन्दन सिंह राजवारले हेलिकप्टर दुर्घटनाको पुष्टि गरेका छन् ।

यसअघि विहिबार मात्रै अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटनामा परेको थियो । उक्त विमान दुर्घटनामा मृत्यु हुनेको संख्या दुई सय ७५ पुगिसकोको छ ।

उक्त दुर्घटनामा यात्रुहरूबाहेक स्थानीय बासिन्दा पनि मारिए । बिहीबार दिउँसो लन्डनको ग्याटविकतर्फ जाँदै गरेको एयर इन्डियाको बोइङ ७८७–८ ड्रीमलाइनर विमान अहमदाबादको सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको केही मिनेटमै मेघानी नगरको आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो।

विमानमा चालकदलका १२ जनासहित दुई सय ४२ जना सवार थिए । जसमध्ये १६९ भारतीय, ५३ बेलायती, सात पोर्चुगिज र एक क्यानेडाली थिए। दुर्घटनामा सिट ११ए मा बसेका एक जना बेलायती–भारतीय मूलका विशवशकुमार रमेश बाँचेका छन्।

विमान टेकअपलगत्तै बिजे मेडिकलको होस्टलमा जोत्तिन पुगेको थियो । जसका कारण होस्टेलमा रहेका ३४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा पाँच जना चिकित्सक रहेका छन् भने ३१ जना अन्य स्टाफ थिए ।

प्रकाशित मिति: १ असार २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्