सहकारी ठगी प्रकरण : ज्योतिबहादुरलाई कम्बोडियाबाट ल्याइयो



काठमाडौं । ललितपुरको मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलन आरोपमा फरार रहेका ज्योतिबहादुर भण्डारीलाई प्रहरीले कम्बोडियाबाट नेपाल ल्याएको छ ।

ठगी प्रकरणमा फरार भएपछि भण्डारी विरुद्ध इन्टरपोलबाट रेड नोटिस जारी भएको थियो । कम्बोडियामा पक्राउ परेको खबरपछि उनलाई ल्याउन नेपाल प्रहरीका अधिकृत कम्बोडिया गएका थिए । सिंगापुर एयरलाइन्सको उडानमार्फत उनलाई काठमाडौँ ल्याइएको हो ।

ललितपुर महानगरपालिका वडा नम्बर–५ स्थित महालक्ष्मीस्थानमा सञ्चालित मितेरी बचतको रकम अपचलन गरेको आरोपमा उनीबिरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको छ ।

बर्दिया घर भएका भण्डारी समेतले सहकारीको ३ करोड ४४ लाख रुपैयाँ अपचलन गरेको प्रहरीको प्रारम्भिक अनुमान छ ।

मितेरीको रकम अपचलनमा संलग्न आरोपमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरुङ पनि जोडिएकी छन् ।

प्रकाशित मिति: ५ असार २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्