अमेरिका प्रवेशमा थप ३६ देशका नागरिकमाथि प्रतिबन्ध लगाउँदै ट्रम्प
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले थप ३६ देशका नागरिकलाई अमेरिका प्रवेशमा पूर्ण वा आंशिक प्रतिबन्ध लगाउने तयारी गरिरहेको छ ।
रोयटर्सले प्राप्त गरेको अमेरिकी विदेश मन्त्रालयको गोप्य दस्ताबेजअनुसार ‘विदेशी आतङ्कवादी’ तथा अन्य राष्ट्रिय सुरक्षासम्बन्धी खतराबाट बच्न यस्तो प्रतिबन्ध लगाइएको हो । हालै मात्र अमेरिका सरकारले १२ देशका नागरिकलाई प्रवेश निषेध गरेको थियो ।
हाल प्रतिबन्धको तयारीमा रहेका ३६ देशमा अं गोला, भुटान, क्यामरुन, इथियोपिया, इजिप्ट, घाना, किर्गिस्तान, नाइजेरिया, सिरिया, तान्जानिया, युगान्डा, जिम्बाबे लगायत अफ्रिकी, एसियाली तथा केही क्यारिबियन राष्ट्र रहेका छन् ।
यसअघि यात्रा प्रतिबन्ध लागेका १२ देशमा अफगानिस्तान, म्यानमार, चाड, सोमालिया, इरान, यमन लगायत छन्। साथै बुरुन्डी, क्युबा, लाओस्, भेनेजुएलालगायत सात देशमा आंशिक प्रतिबन्ध लगाइएको छ ।
ट्रम्पले आफ्नो पहिलो कार्यकालमा सात मुस्लिम बहुल देशमाथि यात्रा प्रतिबन्ध लगाउने निर्णय गरेका थिए ।
प्रकाशित मिति: ८ असार २०८२, आइतबार
















