बाइक स्टन्टपछि रास्वपा सांसद बब्लु गुप्तालाई ५ सय रुपैयाँ जरिमाना



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद बब्लु गुप्तालाई गुडिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि ट्राफिक कारबाहीमा परेका छन् ।

सिरहा–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री समेत रहेका गुप्तालाई ट्राफिक प्रहरीले कारबाही स्वरुप पाँच सय रुपैयाँ जरिमाना तिराएको हो ।

गुप्ताले स्टन्ट शैलीमा मोटरसाइकलको पछाडि उभिएर यात्रा गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनको चौतर्फी आलोचना भएको थियो।

आलोचना बढेपछि सांसद गुप्ताले सामाजिक सञ्जालमार्फत आफ्नो व्यवहारप्रति दुःख व्यक्त गर्दै क्षमा मागेका छन्।

बाल्यकाल बिताएको ठाउँमा पुग्दा पुराना सम्झनाहरू ताजा भएकाले रमाइलोको क्रममा मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाउँदा ट्राफिक नियम उल्लंघन भएको आफूले महसुस गरेको बताएका छन्।

साथै, उनले आफूबाट गल्ती भएको स्वीकार गर्दै अब आफ्नो जोस र ऊर्जा देश र जनताको हितमा समर्पित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

‘आफ्नो बाल्यकालमा खेलेको ठाउँमा पुग्दा पुराना सम्झनाहरू ताजा भएको र त्यही खुसी र रमाइलोको क्षणमा मजाक–मजाकमै मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाउँदा मैले ट्राफिक नियम उल्लङ्घन गरेको रहेछु भन्ने कुरा मैले आफैँ महसुस गरेको छु। अब यही जोस र ऊर्जा देश र जनताको हितमा समर्पित गर्ने प्रतिबद्धता व्यक्त गर्दछु। मबाट जानी वा नजानी कुनै गल्ती भएको भए क्षमा माग्दछु,’ आफ्नो व्यवहारप्रति क्षमा माग्दै उनले भनेका छन् ।

प्रकाशित मिति: ८ श्रावण २०८३, शुक्रबार