माओवादीले भन्यो – इरानमाथि अमेरिकी आक्रमणबाट युद्धआतंकको त्रास फैलियो
काठमाडौं । नेकपा माओवादी केन्द्रले इरानमाथि अमेरिकी आक्रमण विश्वयुद्ध निम्त्याउने दुष्प्रयास गरेको बताएका छन् ।
माओवादी केन्द्रका महासचिव देव गुरुङ, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी, नेकपा एकीकृत समाजवादीका स्थायी समिति सदस्य बलराम बाँस्कोटा, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पीवीएम पवनमान श्रेष्ठले संयुक्त वक्तव्यमा निकाले यस्तो बताएका छन् ।
उनीहरूले ‘अमेरिकी साम्राज्यवादले आणविक हतियारको बहानामा इरानमाथि आक्रमण गरेको र यो गम्भीर युद्ध अपराध’ भएको बताएका छन् ।
इरानमाथि अमेरिकी आक्रमणको घोर निन्दा एवं भर्त्सना गर्दै अविलम्ब युद्धविराम गरी विश्वशान्ति कायम गर्न अपिल गरिएको छ ।
संयुक्त वक्तव्यमा उल्लेख छ, ‘यसबाट विश्वव्यापी युद्धआतंकको त्रास फैलिएको छ ।’
विश्वशान्तिका लागि संयुक्त राष्ट्रसंघको बडापत्र, पञ्चशीलको सिद्धान्त र अन्तर्राष्ट्रिय कानुनहरूको आधारमा शान्तिपूर्ण ढंगले समस्याहरूको समाधान खोजिनुपर्ने मत प्रकट गरिएको छ ।
यसका साथै अमेरिकी र इजरायली आक्रमणको विरोध गर्न, स्वाधीन राष्ट्रहरुको पक्षमा उभिन र इजरायल तथा इरानमा रहेका नेपालीहरुको सुरक्षाका लागि अविलम्ब पहल गर्न नेपाल सरकारसँग जोडदार माग गरिएको छ ।
प्रकाशित मिति: ९ असार २०८२, सोमबार
















