म्यानचेस्टर सिटी मोनाकोसँग ३–१ ले पराजित


 


काठमाडौं,  चैत ३

इंग्लिस क्लब म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ । पहिलो लेगमा ५–३ को जित निकाले पनि बुधबार राति भएको दोस्रो लेगमा म्यानचेस्टर सिटी फ्रेन्च क्लब मोनाकोसँग ३–१ ले पराजित भयो । समग्रमा ६–६ को बराबरी भएको खेलमा अवे गोलका आधारमा म्यानचेस्टर सिटीलाई पछि पार्दै मोनाको क्वाटरफाइनलमा पुग्न सफल भयो ।

घरेलु मैदानमा भएको पहिलो लेगमा राम्रो प्रदर्शन गरेको सिटीले मोनाकोको मैदानमा भएको दोस्रो लेगमा राम्रो गर्न सकेन र अन्तिम १६ बाटै बाहिरिन बाध्य भयो । मोनाकोको जितमा केलियन एमबाप्पे, टावारेस र टिमोयु बाकायोकोले गोल गरे । सिटीका लागि लिरोय सानेले गोल गरे । आठौं मिनेटमा नै एमबाप्पेले गोल गर्दै मोनाकालाई सुरुवाति अग्रता दिलाए ।

२९ औं मिनेटमा टावारेसले गोल गरेपछि पहिलो हाफमा मोनाकोले २–० को अग्रता लियो । ७१ औं मिनेटमा रहिम स्ट्रलिङको पासमा सानेले सिटीका लागि एक गोल फर्काए । तर त्यसपछिको समय सिटीका लागि घातक बन्यो । ७७ औं मिनेटमा बाबायोकोले गोल गर्दै मोनाकोलाई जित दिलाए । सानेले गरेको एक मात्र अवे गोल सिटीलाई अघिल्लो चरण पुर्‍याउनका लागि पर्याप्त भएन ।

सिटी गएको सिजन म्यनुएल पेलिग्रिनीको प्रशिक्षणमा च्याम्पियन्स लिगको सेमिफाइनलसम्म पुगेको थियो । तर यो सिजन पेप गार्डिवलाको प्रशिक्षणमा अन्तिम १६ बाटै बाहिरिन बाध्य भयो । बार्सिलोनाको प्रशिक्षक रहँदा दुई पटक यो प्रतियोगिताको उपाधि जितेका गार्डिवलाले सिटीलाई बार्सिलोनाकै बाटोमा डोर्‍याउन सकेनन् ।

गार्डिवला आफ्नो प्रशिक्षक करिअरमा च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरिएको यो पहिलो पटक हो । दुई गोलको अग्रता लिएको अवस्थामा दोस्रो लेगमा डिफेन्सिभ खेल्नुको साटो युवा खेलाडीले भरिएको मोनाकोसँग आक्रामक खेल्नु गार्डिवलाको रणनीतिक भुल रहेको विश्लेषण गरिएको छ ।

प्रकाशित मिति: ३ चैत्र २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्