युद्ध सकियो, अब पुनर्निर्माणमा लागौं : इरानी राष्ट्रपति
एजेन्सी । इरान–इजरायलबीच १२ दिनसम्म चलेको भीषण युद्धको अन्त्य भएको छ । इरानी राष्ट्रपति मसूद पेजेस्कियनले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै युद्धविरामको घोषणा गरेका हुन् ।
उनले सबै सरकारी निकाय र संस्थालाई अब पुनर्निर्माणमा केन्द्रित हुन आह्वान गरेका छन् । ‘इरानी जनताको साहसिक र ऐतिहासिक समर्थनका कारण हामीले इजरायलद्वारा लादिएको युद्धको अन्त्य गर्न सफल भएका छौं,’ पेजेस्कियनले भने ।
उनका अनुसार इजरायलले आणविक संरचना नष्ट गर्ने, वैज्ञानिक क्षमता ध्वस्त पार्ने र सामाजिक अस्थिरता सिर्जना गर्ने लक्ष्यमा असफल भएको छ । साथै, कब्जा गरिएका क्षेत्रमा इजरायल र उसका सहयोगीहरूले भोगेको क्षतिले विश्वमा एउटा स्पष्ट सन्देश पठाएको उनले बताए — ‘इरानविरुद्ध दुस्साहस गर्नुको मूल्य अत्यन्तै भारी पर्छ ।’
संयुक्त अरब इमिरेट्सका राष्ट्रपति शेख मोहम्मद बिन जायदसँगको टेलिफोन वार्तामा पेजेस्कियनले इरान संवादका लागि सधैँ तयार रहेको र क्षेत्रीय एकता तथा शान्तिलाई प्राथमिकता दिने स्पष्ट पारे ।
प्रकाशित मिति: ११ असार २०८२, बुधबार
















