मनसुनी वायुको प्रभाव कमजोर : कहाँ कस्तो रहला आजको मौसम ?



काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।

जसले गर्दा हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागका आंशिक बदली रहेको छ।

बागमती प्रदेशका केही स्थानहरू तथा कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ।

देशका पहाडी भूभागका केही स्थानहरूमा तथा तराई भूभागका थोरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशको तराई र मधेस प्रदेशमा हावाहुरी चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

रातिको समयमा कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ।

कोशी प्रदेशको पहाडी र तराई भूभाग लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी प्रदेशको पहाड र तराई भूभागका थोरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराई भूभागहरूमा हावाहुरी चल्ने सम्भावना पनि रहेको छ।

देशभर मनसुनी वायुको प्रभाव कमजोर भएकोले दिउँसोको समयमा गर्मी यथावत् रहने देखिन्छ । 

प्रकाशित मिति: १० श्रावण २०८२, शनिबार

प्रतिक्रिया दिनुहोस्