निर्माण व्यवसायीका समस्या समाधान गर्न सरकार सकारात्मक : प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले आज नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीसँग छलफल गरेका छन् ।
बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहले निर्माण क्षेत्रका समस्या समाधान, पूर्वाधार विकास र लगानी वातावरण सुधारका विषयमा निर्माण व्यवसायीसँग छलफल गरेका हुन् ।
छलफलमा प्रधानमन्त्री शाहले निर्माण क्षेत्र मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना र पूर्वाधार निर्माणको महत्वपूर्ण आधार भएकाले यस क्षेत्रका समस्या समाधानका लागि सरकार सकारात्मक रहेको बताए ।
उनले निर्माण व्यवसायलाई मर्यादित, पारदर्शी, जिम्मेवार र परिणाममुखी बनाउँदै विकास–निर्माणका काम निर्धारित समयमै सम्पन्न गर्न सरकार र निजी क्षेत्रसहित सबै पक्षको सक्रिय सहकार्य आवश्यक रहेकोमा जोड दिए ।
छलफलमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलश पाण्डे, वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, महासचिव शिवहरि घिमिरे, बागमती प्रदेशका उपाध्यक्ष बालकृष्ण थापा तथा महासंघका पूर्वअध्यक्ष एवम् सल्लाहकार जयराम लामिछाने सहभागी थिए ।
निर्माण क्षेत्रले भोग्दै आएको भुक्तानी समस्या, म्याद थप नभएको विषय, ठेक्का व्यवस्थापन, समयमै आयोजना कार्यान्वयन, मूल्य समायोजन, बैंकिङ तथा लगानीसम्बन्धी चुनौतीबारे प्रधानमन्त्री शाहलाई जानकारी गराएका थिए । साथै, निर्माण उद्योगलाई चलायमान बनाउन सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्ने धारणा पनि राखेका थिए ।
व्यवसायीले १ घण्टासम्म गरेको छलफलमा भुक्तानीको समस्या समाधान गर्न मूल्य समायोजनमा प्रधानमन्त्री सकारात्मक देखिएका छन्।
नयाँ आर्थिक वर्षको बजेट कार्यान्वयनको पूर्वसन्ध्यामा प्रधानमन्त्री शाहले निजी क्षेत्रसँगको संवाद तीव्र पारेका हुन्।
यसअघि प्रधानमन्त्रीमा नियुक्त भएको १०० दिनसम्म निजी क्षेत्रसँग औपचारिक संवाद नगरेका शाहले बुधबार उद्योगी तथा व्यवसायीहरूसँग डेढ घण्टा लामो छलफल गरेका थिए ।
छलफलका क्रममा व्यवसायीहरुले व्यवसायीहरुमाथि दोषी देखिए कारबाही भोग्न तयार रहे पनि सरकारले अनावश्यक धरपकड गरेकोमा आपत्ति जनाएका थिए। तर, प्रधानमन्त्री शाहले गल्ती गर्नेलाई छोड्न पनि नहुने र निर्दोषले त्रसित हुन नपर्ने भन्दै ढुक्क भएर काम गर्न आश्वस्त पारेका थिए।
प्रकाशित मिति: २५ असार २०८३, बिहिबार










