आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ, साउन ११ । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ ।
आज दिउँसो देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा तराई भू–भागका थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा र मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईमा हावाहुरी चल्ने सम्भावना छ ।
आज रातिको समयमा कोशी प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी तराई भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
यो समयमा कोशी, बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: ११ श्रावण २०८२, आइतबार










