भारतीय नम्बरको गाडीबाट लागूऔषध बरामद, चार जना पक्राउ
काठमाडौं । सशस्त्र प्रहरीले मकवानपुरबाट ठूलो परिमाणमा लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ ।
जिल्लाको इन्द्रसरोवर गाउँपालिका–२ हेवी चोकबाट गएराति ठूलो परिमाणको लागू औषधसहित भारत घर बताउने ४३ वर्षीय शेख सपुर, १९ वर्षीय निसाव आलम, २५ वर्षीय ओसिम अहमद र २४ वर्षीय शेख गजुरलाई पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेश कुलेखानीबाट सशस्त्र प्रहरी निरीक्षक अमृत थापाको कमाण्डमा खटिएको सुरक्षा फौजले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएकाहरूमध्ये २४ वर्षीय शेख गजुर उक्त गाडीको चालक रहेका छन् ।
सशस्त्र प्रहरीका अनुसार भारतको सुगौलीबाट पर्साको बीरगञ्ज हुँदै काठमाडौंतर्फ आउँदै गरेको बीआर ०५ पीए ९०९३ नम्बरको भारतीय स्कारपियो गाडीको तीन वटा ढोकामा फल्स बटम बनाई लागू औषध ल्याइएको थियो ।
बरामद लागू औषधमा नोफिन २ हजार ४ सय वटा, डाईजेपाम २ हजार ४ वटा, प्रोमेथाईजन हाईड्रोक्लोराईट २ हजार ४ सय वटा र ट्रमाडोल हाईड्रोक्लाराईड क्याप्सुल ५ वटा रहेको छ ।
नियन्त्रणमा लिएकाहरूलाई बरामद लागूऔषध तथा गाडीसहित आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: ११ श्रावण २०८२, आइतबार










