चितवनका यी स्थानमा आज ६ घण्टा विद्युत् कटौती हुने
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको चितवन चनौली वितरण केन्द्रले आज ६ घण्टा विद्युत् आपूर्ति कटौती गर्ने भएको छ ।
अत्यधिक गर्मी र रोपाइँको समयमा आकासे पानी नपरेको अवस्थामा माग बढेको भन्दै बिहान, दिउँसो, बेलुका र रातिसम्म विद्युत् कटौती हुने चनौली वितरण केन्द्रका प्रमुख राजकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार १३२/३३ केभी सबस्टेशनबाट आउने ३३ केभी डगकन्डक्टर तारमा तीन सय एम्पिएरभन्दा बढी विद्युत् प्रवाह गर्न नमिल्ने तर लोड चार सय ५० एम्पियरभन्दा बढी भएकाले वितरणमा व्यवस्थापन मिलाउनुपर्ने भन्दै आज एक दिनका लागि तालिका सार्वजनिक गरिएको हो ।
वितरण केन्द्र चनौलीअन्तर्गत नारायणी–माडी, मेघौली–विजयनगर–शुक्रनगर र जगतपुर–रामपुर फिडरमा विद्युत् आपूर्ति अवरुद्ध हुनेछ । पश्चिम चितवन र माडी क्षेत्रमा चनौलीबाट विद्युत् आपूर्ति हुँदै आएको छ ।
तालिकाअनुसार नारायणी–माडी फिडरहरूमा अहिले बिहान ६ बजेदेखि ९ र दिउँसो ३ बजेदेखि ६ बजेसम्म, मेघौली–विजयनगर–शुक्रनगर फिडरहरूमा बिहान ९ बजेदेखि १२ बजेसम्म र बेलुका ६ बजेदेखि ९ बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुनेछ ।
यस्तै जगतपुर–रामपुर फिडरहरूमा दिउँसो १२ बजेदेखि ३ बजेसम्म र बेलुका ९ बजेदेखि १२ बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुनेछ ।
प्रकाशित मिति: ११ श्रावण २०८२, आइतबार










