रानाथारु समुदायले आज तीज मनाउँदै



कैलाली । सुदूरपश्चिम तराईका रानाथारु समुदायले आज (आइतबार) तीज पर्व मनाइँदै छन् ।

रानाथारु समुदायका महिलाले आफ्ना दाजुभाइ र भतिजाको दीर्घायुको कामना गर्दै आज तीज मनाइरहेका छन् । दिनभरि निराहार व्रत बसेर यो पर्व मनाउने चलन रहेको छ । यो समुदायले तीज श्रावण शुक्ल तृतीयाका दिन मनाउँछन् ।

अन्य समुदायका महिलाले आफ्नो श्रीमानका दीर्घायुका लागि तीज व्रत बस्ने गरे पनि रानाथारु समुदायका महिलाले आफ्ना दाजुभाइ र भतिजाको लामो आयु र सुस्वास्थ्यका लागि व्रत बस्ने गरेको धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँका पूर्व भलमनसा सन्तराम रानाले बताए ।

यस दिन दिनभरि निराहार व्रत बसेर अपराह्न वा बेलुकातिर नदीमा गई पूजा गर्ने चलन रहेको छ । उनका अनुसार सावनको डोला बनाउन प्रयोग गरिएको डोरी (मुरिया) काटेर व्रतालु महिलाहरुले नदीमा लग्ने गर्दछन् । यस्तै, झुरकी (कुसको गाँठो) बनाएर पनि लग्ने चलन छ । विवाहित व्रतालुले सात वटा गाँठो र अविवाहितले पाँच वटा गाँठो बनाएर झुरकी लग्ने र मुरियासहित त्यसलाई नदीमा सेलाउने गर्छन् ।

तीजको पूजाआजापछि व्रतालुसहित घरपरिवार सबै मिलेर सिमही, पुरी, गुलगुला, पकौडा, पपरा लगायतका मिठा परिकार खाने चलन रहेको छ । यसैगरी, दाजुभाइहरुले व्रतालुहरुलाई आशिर्वादको साथै सकेको दक्षिणा पनि दिने गरिन्छ ।

तीजको केही दिन अगाडिदेखि नै गाउँ गाउँमा सावन डोलामा रमाउने चलन रहेको छ । तीज सकिएपछि पनि महिलाले सामूहिक रुपमा सावन डोलामा पिङ खेलेर रमाउने गर्छन् ।

प्रकाशित मिति: ११ श्रावण २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्