पर्यटनमार्फत् रोजगारी



दीपकराज जोशी
प्रमुख कार्यकारी अधिकृत, नेपाल पर्यटन बोर्ड
नेपाल प्राकृतिक, सांस्कृतिक र धार्मिक विविधताले भरिएको देश हो । संसारका कुनै पनि देशमा नपाइने प्राकृतिक विविधता हाम्रोमा छ ।

विश्वकै सर्वोच्च शिखर सगरमाथासहितका अग्ला हिमालहरू, ताल र सिमसार, वनजङ्गल, वन्यजन्तु, प्राचीन मठमन्दिर, ऐतिहासिक दरबारहरू, जैविक विविधता साथै अद्वितीय संस्कृति र परम्पराले नेपाल हेर्न र घुम्नलायक छ ।

यी प्राकृतिक र सांस्कृतिक सम्पदा नै पर्यटक आकर्षणको केन्द्र हुन् । निर्यातमुखी उद्योगधन्दा नभएको हाम्रो देशले विदेशी मुद्रा आर्जन गर्ने मुख्य स्रोत पर्यटन नै हो । पर्यटन विकासले मात्र देश समृद्धि बन्न सक्छ ।

विगतलाई हेर्दा
नेपालको पर्यटनलाई फर्केर हेर्ने हो भने २००७ सालमा प्रजातन्त्र स्थापनापछि सुरु भएको मान्न सकिन्छ । त्यसअघि पर्यटक नेपाल भित्रिने वातावरण थिएन । प्रजातन्त्र स्थापनापछि जब पर्यटक आउन थाले, यहाँको प्राकृतिक सौन्दर्य, हिमाल, पर्वत, सांस्कृतिक विविधता अनि धार्मिक सम्पदाहरूले पर्यटक आकर्षित गर्न सक्यो ।

२०१० सालमा एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथा विजयप्राप्त गरेपछि अन्तर्राष्ट्रिय रूपमा नेपालको चर्चा सुरु भयो । त्यसपछि विदेशी पाहुना पर्वतारोहण र अनुसन्धानका लागि नेपाल आउन थाले । संसारभर नेपालको चर्चा चुलियो ।

नेपाल सरकारले सन् १९९८ लाई ‘पर्यटन वर्ष– १९९८’ मनाएर प्रचारप्रसार गरेपछि पर्यटकको सङ्ख्यामा राम्रै वृद्धि हुन थाल्यो । यो क्रम २०७६ को कोभिडकालसम्म आइपुग्दा वार्षिक १२ लाख पर्यटक भित्रिन थाले । कोभिडले पर्यटन क्षेत्रलाई ठूलो असर ग¥यो । सबै क्षेत्र पुरानै लयमा आउँदासमेत नेपालको पर्यटन क्षेत्र रिकभर हुन अझै ५ प्रतिशत बाँकी छ ।

वर्तमान अवस्था
कोभिड पछाडिको पर्यटन अवस्था हेर्दा हामी विश्वको पर्यटनभन्दा ५ प्रतिशतले पछाडि छौँ । सन् २०२४ को तथ्याङ्कलाई केलाउने हो भने संसारभरिको पर्यटन ९९.६ प्रतिशत अर्थात् शतप्रतिशत रिकभर भइसक्यो । तर, हामी भने अगाडिको अवस्थामा अझै पुगिसकेका छैनौँ । कोभिड पछाडि सप्लाई साइटमा धेरै लगानी भएको छ ।

होटलहरू उल्लेख्य मात्रामा थपिएका छन् । १५ वटाभन्दा बढी इन्टरनेसनल चेन र पाँचतारे होटलहरू थपिए । सीमा क्षेत्रमा पनि होटल थपिएका छन् । बुटिक होटलहरू पनि धेरै थपिए । यातायातका साधन पनि थपिएका छन् । टुरगाइडका लागि तालिमहरू भइरहेका छन् ।

ठूलो लगानीमा गुणस्तरीय होटलको सङ्ख्या बढ्यो । तर, डिमान्ड साइडमा हामीले अझै पर्यटकको सङ्ख्या बढाउन सकेका छैनौँ । २०२४ मा करिब ११ लाख ५० हजार पर्यटक नेपाल भित्रिए ।

नेपाल सरकारले सन् २०२० लाई ‘भ्रमण वर्ष’ घोषणा गरेको थियो । त्यसमा पर्यटकको आगमन सङ्ख्या डबल अर्थात् २० लाखभन्दा बढी बनाउने लक्ष्यसहित योजना र तयारी गरिएको थियो ।

त्यसबीचमा पोखरा र भैरहवामा दुईवटा नयाँ विमानस्थल बने । ती विमानस्थल बन्दै गर्दा पर्यटकको सङ्ख्या उल्लेख्य वृद्धि हुने आसले लगानी भए । तर आजका दिनसम्म विमानस्थलहरू राम्रोसँग सञ्चालन हुन सकेका छैनन् । बाटोको पूर्वाधार पनि राम्रो हुन सकेको छैन । निजी क्षेत्रले आफूले गर्ने लगानी गरेका छन् ।

होटलहरूको विकास र विस्तार भएको छ । तर राज्यले गर्नुपर्ने पूर्वाधारका काम भने अपेक्षाकृत हुन सकेको छैन । यदि पर्यटन क्षेत्रको विकासलाई जोड दिने हो भने यसबाट देश विकासका लागि सम्भावनाको ढोका खुल्छ । समृद्धिका लागि पर्यटनले महत्वपूर्ण योगदान रहन्छ ।

नेपालमा सबैभन्दा उच्च महत्व राख्ने क्षेत्र हो यो, हाम्रो अरू एक्सपोर्ट बिजनेस छैन । कुनै पनि देशका लागि विदेशी मुद्रा भित्र्याउन निर्यात व्यापार चाहिन्छ । त्यसको एउटा मुख्य स्रोत चाहिन्छ ।

त्यसमा विभिन्न उत्पादनहरू निर्यात गरेर कमाइन्छ । हामीकहाँ निर्यात गर्ने वस्तु केही छैन । उल्टो हाम्रा म्यानुफ्याक्चर इण्डष्ट्रिजको अवस्था घट्दो छ । इम्पोर्ट बढ्दो छ । आजका दिनमा विदेशी मुद्रा आर्जन गर्ने सबैभन्दा महत्वपूर्ण स्रोत पर्यटन हो । भोलिका दिनमा यसले अझ ठूलो महत्व राख्छ । नेपाललाई पर्यटक विकासबाट समृद्ध बनाउन सकिन्छ ;

विदेशी मुद्रा भित्र्याउने
नेपालले विदेशी मुद्रा भित्र्याउने महत्वपूर्ण स्रोत नै पर्यटन हो । पर्यटन बढेसँगै मुलुकमा विदेशी मुद्रा भित्रन्छ । यसका लागि हामीसँग पर्यटक संख्या बढ्नुपर्छ र यो सम्भावना हामीसँग प्रशस्त छन् ।

नेपालका हिमाल र पर्वतीय शृङ्खलादेखि विश्वको सर्वोच्च शिखर सगरमाथा हामीसँग छ । यसले ट्रेकिङ र पर्वतारोहण गर्ने पर्यटकलाई आकर्षण गर्दछ । विभिन्न तालतलैया र सिमसार क्षेत्र, वन्यजन्तु संरक्षण क्षेत्र र विभिन्न मनोरम दृश्यले पर्यटक तान्न सक्छ । साथै हामीसँग भएका विभिन्न प्राचीन सम्पदाहरू, मठमन्दिर, गुम्बा, दरबार र साँस्कृतिक धरोहरहरूले उनीहरूको मन लोभ्याउन सक्छ ।

नेपाल हावापानी, जातजाति, भाषा र संस्कृतिमा विविधता भएको देश हो । यहाँका हरेक क्षेत्रमा फरक खालको हावापानी पाइन्छ । विभिन्न जातजाति र समुदायका फरकफरक चाडपर्व र संस्कृति छन् ।

अहिले पर्यटनको प्रवृत्ति पनि फेरिएको छ । २०/२५ वर्ष अगाडि पर्यटनको कस्तो प्रचलन थियो भने कम्फर्ट खोज्ने, ठूला होटलमा बस्ने, ठूला सहरहरू घुम्ने, ठूला प्राकृतिक र सांस्कृतिक सम्पदा भएका क्षेत्रहरू भ्रमण गर्ने थियो ।

आजकाल पर्यटकहरूमा ग्रामीण क्षेत्रमा जाने, नयाँ प्रकारका अनुभूति लिने, अद्वितीय अनुभव हासिल गर्ने प्रचलन बढ्दो छ । यस्ता पर्यटकका लागि नेपाल सबैभन्दा उपयुक्त गन्तव्य हो । यहाँ सहासिक, प्राकृतिक, साँस्कृतिक सबै खालको स्वाद लिन पाइन्छ । यसले नेपालमा पर्यटकलाई आकर्षण गर्न र विदेशी मुद्रा आर्जन गर्न सकिन्छ ।

रोजगारी सिर्जना
जहाँ पर्यटन त्यहाँ रोजगारीको अवसर । पर्यटन विकासले नै सबैखाले अवसरहरूको सम्भावनाका ढोका खुल्छ । अहिले नेपालमा कृषिप्रतिको आर्कषण पनि घट्दो छ । यहाँ उद्योग कलकारखाना प्रयाप्तमात्रामा छैनन् । जलविद्युत एउटा सम्भावना भएको क्षेत्र हो । तर त्यसले पर्यटनमा जति रोजगारी सिर्जना गर्दैन ।

रोजगारी लागि सबैभन्दा अवसरदार क्षेत्र पर्यटन नै हो । किनभने सबै क्षेत्रमा प्रविधिको प्रयोग बढ्दो छ । यसले गर्दा मानिसले गर्ने काम मेसिनले गर्न थालेपछि रोजगारी घट्दो छ । पर्यटनचाहिँ यस्तो क्षेत्र हो जहाँ मानवीय संलग्नता आवश्यक छ । यो ह्युमन टच चाहिने सेवामुखी व्यवसाय हो । त्यसैले पर्यटनको जति विकास भयो त्यति बढी रोजगारी सिर्जना हुन्छ ।

वातावरण प्रवद्र्धन
संसारभरि अहिले जलवायु अनुकुलन (क्लाइमेट चेन्ज) को असर देखिएको छ । पर्यटन ग्रीन इकोनोमीमा आधारित छ । वातावरणमैत्री हरित पर्यटकीय उद्योगहरूलाई बढावा दिनुपर्छ भन्ने लहर चलेको छ । पर्यटन यस्तो क्षेत्र हो, जसले ग्रिन टुरिज्जमलाई आकर्षित गर्छ ।

आजका दिनमा पनि धेरैजसो गन्तव्यहरू, नेशनल पार्कहरू, हिमालहरू नै छन् । ती सबै र नेचर बेस्ड नै हुन् । अर्कोतर्फ संसारभर सहरी जनसङ्ख्या बढ्दो छ । अबको २५/३० वर्षमा संसारको सहरी जनसङ्ख्या ७० प्रतिशत पुग्ने अनुमान गरिएको छ । सहरी जनसङ्ख्यासँगै प्रकृतिमैत्री पर्यटन पनि बढ्दै जान्छ ।

हामीसँग १६ हजारभन्दा बढी सामुदायिक वन, १२ वटा नेसनल पार्क छन् । करिब ४५ प्रतिशत भूभाग वनजङ्गल र संरक्षित क्षेत्र छ । यसले प्रकृतिमैत्री पर्यटनका लागि नेपाल रोजाइ हुनसक्छ । नेपालमा पर्यटनको अथाह सम्भावना हुँदाहुँदै पनि यस क्षेत्रले निम्न चुनौती सामना गरिरहेको छ ;

पूर्वाधारको अभावः
नेपालमा अहिले आधारभूत पूर्वाधारको अवस्था साह्रै कमजोर छ । पर्यटक आउने पहुँचको समस्या छ । उनीहरू नेपाल आउन खोज्छन् तर हवाई टिकट अत्यन्त महँगो छ । हवाई टिकट महँगो हुनुको अर्थ यहाँ एउटै अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छ । निर्माण सम्पन्न भइसकेका दुई विमानस्थल पनि पूर्णरूपमा सञ्चालन हुन सकेका छैनन् । यथेष्ट हवाई सेवा प्रवाह हुन सकेको छैन ।

देशभित्र सडक सञ्जालको अवस्था कमजोर हुनु अर्को कारण हो । सडक पूर्वाधार सहज भए छिमेकी देशहरूबाट पनि लाभ लिन सकिन्थ्यो । नेपाल आउने कुल पर्यटकमध्ये ८० प्रतिशत हवाई मार्गबाट आउँछन् । बाँकी २० प्रतिशतले सडक मार्ग प्रयोग गर्छन् ।

हामीले सडकबाट आउने पर्यटकको सङ्ख्या बढाउनु पर्नेछ । भैरहवा, बेलहिया, वीरगन्ज र काँकरभिट्टाजस्ता नाकाबाट नेपालका मुख्य पर्यटकीय गन्तव्य जोडिने बाटो छैन । पर्यटकीय गन्तव्य र नाका जोड्ने बाटाहरू हामीले जतिसक्दो छिटो प्राथमिकतामा राखेर सम्पन्न गर्नुपर्छ ।

भारतको उत्तर प्रदेश, पश्चिम बङ्गाल र विहारमा रहेका अन्तर्राष्ट्रिय विमानस्थलबाट सीधै नेपाल आउनसक्ने वातवरण बनाउनु अर्को चुनौती हो । त्यहाँका एयरपोर्टहरूमा ल्याण्ड गरेपछि बाहिर आई नेपाल आउन सक्ने प्रशस्त सम्भावना छन् । त्यो अवसर हामीले गुमाइरहेका छौँ ।

पेमेन्ट गेटवे/मुद्रा सटही
हाम्रो अर्को समस्या पेमेन्ट गेटवे पनि हो । खर्च गर्न आएका पर्यटकले खर्च गर्नै नपाउने अवस्था छ । उदाहरणका लागि बङ्गलादेशी पर्यटक धेरै आउन खोजिरहेका छन् । अहिले पनि वार्षिक २५/३० हजारको हाराहारीमा आइरहेका छन् । तर बङ्गलादेशी टाका हामीकहाँ साटिँदैन । डलरमा साट्नुपर्ने बाध्यता छ । जसले भण्झटिलो बनाएको छ । यसलाई सहज गराउन सके प्रतिवर्ष लाखमाथि बङ्गलादेशी नेपाल भित्रिनेछन् ।

अहिले हामी १८/२० वटा देशका मुद्रामात्र सटही गर्छौ । सम्भावना भएका देशका मुद्रा यही सटही गर्ने व्यवस्था गर्नु अहिलेको आवश्यकता हो । भारतीय पर्यटकले २५ हजारभन्दा बढी ल्याउन नपाउने व्यवस्थाले पर्यटनलाई असर पारिरहेको छ । पर्यटकले अनलाइनबाट भुक्तानी गर्ने सहजता पाउनुपर्दछ । त्यसैले डिजिटल पेमेन्ट गेटवेहरूको विकास आवश्यक छ ।

पारस्परिक समन्वयको अभाव
हामीकहाँ विभिन्न मन्त्रालय, निकाय र निजी क्षेत्रबीच प्रभावकारी समन्वयको अभाव छ । विभिन्न नीतिहरू एकआपसमा बाँझिएका छन् । यसले एकातर्फ पर्यटन उद्योगमा लगानी गर्दा धेरै झण्झट भोग्नु परेको छ । अर्कातर्फ पर्यटकलाई सहजीकरण गर्न र प्रभावकारी मार्केटिङ गर्नसमेत असर परिरहेको छ ।

पर्यटन क्षेत्रले राज्यबाट पाउने सेवा एउटै ठाउँबाट पाउनसके सहज हुन्छ । राज्यका निकायबीच समन्वयको अभावले पर्यटन उद्योगमा असर परिरहेको छ । पर्यटन उद्योगले श्रम, उद्योग, वनजस्ता मन्त्रालयका छुट्टाछुट्टै नीतिनियम र कानुनहरूको पालना गर्नुपर्छ जो आफैँमा बाझिएका छन् । ती निकायबीच प्रभावकारी समन्वय पाइँदैन ।

यी चुनौतीहरूको सामना गर्दै देशमा सम्भावना भएको पर्यटनको विकासका लागि अब राज्यले निम्न कार्य गर्नुपर्छ ;

पूर्वाधारमा लगानी : पर्यटन विकासका लागि सरकारले पूर्वाधारमा लगानी गर्नुपर्छ । सडक, विमानस्थल, सार्वजनिक सेवा सुधार र सस्तो तथा सहज हवाई सेवाको विस्तार गर्नुपर्छ ।

विमानस्थल र पर्यटक भित्रने नाकादेखि पर्यटकीय गन्तव्यसम्मका सडक सहज बनाउनु पर्दछ । जसले छिमेकी देशका पर्यटकलाई भित्र्याउने आधार बनाउँछ । त्यस्तै होटल र अन्य पर्यटकीय गन्तव्यहरूमा निजी लगानीलाई प्रोत्साहन दिनु पर्दछ । लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्छ । जसले पर्यटनको विकासका लागि सहज बनाउँछ ।

डिजिटल भुक्तानी र अध्यागमनमा सुधार : डिजिटल पेमेन्ट गेटवेहरूको विस्तार र मुद्रा विनिमयलाई सहज बनाउनुपर्छ । पर्यटन आउने सम्भावना भएका बङ्गलादेश, भुटानजस्ता नजिकका मुलुकको मुद्रा विनिमय प्रक्रिया सहज बनाउनुपर्छ । साथै अध्यागमन प्रक्रिया सहज हुनुपर्छ । एकपटक आउँदा सहजै आएका पर्यटक पुनः आउने सम्भावना बढ्छ । त्यसैले भुक्तानी गर्ने र पर्यटक भित्रने प्रक्रियामा समेत सुधार ल्याउनु पर्दछ ।

ब्राण्डिङ
नेपालका पर्यटकीय क्षेत्रहरू प्रचारप्रसार गर्नुपर्दछ । पर्यटकीय प्याकेजको निर्माण गरी त्यसको बजारीकरण अहिलेको आवश्यकता हो । यहाँ जति पनि पर्यटकीय क्षेत्रहरू छन् । त्यसअनुसारको प्रचारप्रसार हुन सकेको छैन ।

इको टुरिज्जम, एडभेन्चर, माउन्टेरिङ, कल्चरल टुरिज्जम, वाइल्डलाइफ टुरिज्जमजस्ता सम्भावना बोकेका र पर्यटक आकर्षण गर्न सकिने क्षेत्रहरूको ब्राण्डिङ गर्नु आवश्यक छ । यसमा होटल र होमस्टेको गुणस्तर सुधारदेखि स्थानीय संस्कृति र खानपानको अनुभवसमेत जोड्न सकिन्छ ।

ब्राण्डिङका लागि विभिन्न प्रकारका इभेन्टको आयोजना गर्नुपर्दछ । विश्वस्तरीय एड्भेन्चर, म्युजिक, स्पोर्टस्जस्ता इभेन्ट गरेर पर्यटन प्रवद्र्धन गर्न सकिन्छ ।

यसका लागि नेपाल पर्यटन बोर्डले विभिन्न गतिविधि गर्दै आएको छ । अहिले सिजनल पर्यटन छ । यसलाई वर्षभरि आउने वातावरण बनाउन २५ वटा ‘लाइफटाइम एक्सपेरियन्स’ जो मानिसले जीवनमा कहिले अनुभव नगरेका कुराहरूलाई समावेश गरेर ब्राण्डिङ गर्ने काम भइरहेको छ । यसले बाह्रै महिना पर्यटकलाई आकर्षित गर्नेछ । यसलाई विश्वका पर्यटकसामु पु¥याउन डिजिटल प्लेटर्फमको प्रयोगमा जोड दिइएको छ ।

पर्यटन बोर्ड र समन्वयकारी संयन्त्र सक्रिय बनाउने : सरकारले लिएका नीति र निजी क्षेत्रले राखेका लक्ष्यलाई पूरा गर्न पर्यटनबोर्ड र अन्य सरकारी निकायहरू एउटा संयन्त्र बनाई पर्यटनका समस्या र चुनौतीहरूको समना गर्दै यसलाई समयानुकूल विकास गर्नु पर्दछ ।

प्रकाशित मिति: ११ श्रावण २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्