पर्यटन विकासका लागि आरोग्य पर्यटनदेखि निजगढ विमानस्थलसम्म सरकारको प्राथमिकता : मन्त्री पौडेल



काठमाडौँ, २२ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले संस्कृति संरक्षण, पर्यटन प्रवर्द्धन र नागरिक उड्डयन क्षेत्रको विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन्।

राष्ट्रियसभाको सोमबारको बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयको बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले उपलब्ध बजेट सीमाभित्र देशभर सन्तुलित र न्यायोचित ढङ्गले बजेट विनियोजन गरिएको बताए।

उनका अनुसार सरकारले अब बन्ने पर्यटन ऐन र नियमावलीमा सात हजार मिटरभन्दा अग्लो हिमाल आरोहण नगरी सगरमाथा आरोहण गर्न नपाइने व्यवस्था गर्ने तयारी गरेको छ। सगरमाथामा बढ्दो चाप व्यवस्थापन गर्न यस्तो व्यवस्था आवश्यक रहेको उनको भनाइ थियो।

मन्त्री पौडेलले पर्यटन विकासलाई एउटै क्षेत्रमा सीमित गर्न नहुने उल्लेख गर्दै आरोग्य पर्यटनलगायत विविध पर्यटन क्षेत्रको विकासमार्फत दिगो पर्यटन प्रवर्द्धन गर्न सरकार अघि बढेको बताए।

उनले लक्ष्यअनुसार पर्यटक भित्र्याउन पर्यटन गतिविधिलाई व्यवस्थित बनाइने, जीर्ण अवस्थामा रहेका विमानस्थल सञ्चालनमा ल्याइने तथा पर्यटकीय पूर्वाधार विस्तार गरिने जानकारी दिए।

मन्त्री पौडेलका अनुसार पछिल्लो समय नेपालका विभिन्न धार्मिक तथा पर्यटकीय गन्तव्यमा भारतीय पर्यटकको आगमन उल्लेख्य रूपमा बढेको छ। गत वर्ष मात्रै मुक्तिनाथ क्षेत्रमा करिब एक लाख ३२ हजारभन्दा बढी भारतीय पर्यटक पुगेका थिए।

पर्यटन प्रवर्द्धनका लागि सरकारी, निजी, गैरसरकारी, दातृ निकाय तथा नेपाली डायस्पोरासँग सहकार्यलाई सरकारले प्राथमिकतामा राखेको उनले बताए।

निजगढ विमानस्थललाई वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा विकास गर्ने योजना सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै मन्त्री पौडेलले लगानीको मोडालिटी तय भएपछि आवश्यक बजेट व्यवस्था गरिने बताए।

उनले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि आवश्यक हवाई मार्ग (एयर रुट) सुनिश्चित गर्न सरकारले कूटनीतिक पहल गरिरहेको जानकारी दिए।

नेपाललाई भारत सरकारले अयोध्यामा उपलब्ध गराएको जग्गामा धार्मिक पर्यटकका लागि विश्रामस्थल निर्माण भइरहेको उल्लेख गर्दै मन्त्री पौडेलले यसले नेपाल–भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे।

राष्ट्रियसभाको अर्को बैठक असार २३ गते मङ्गलबार दिउँसो १२ः१५ बजे बस्नेछ। बैठकमा विभिन्न मन्त्रालयको विनियोजन शीर्षकमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ।

प्रकाशित मिति: २२ असार २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्