कोशी प्रदेश पर्यटन वर्ष– २०८२ : समृद्धिको एक नविन अवसर
विशाल घिमिरे
सचिव, पर्यटन वन तथा वातावरण मन्त्रालय, कोशी प्रदेश
प्राकृतिक रूपमा प्रचुर सम्भावना बोकेको नेपालको सुदूरपूर्वको कोशी प्रदेश प्राकृतिक, सांस्कृतिक, अध्यात्मिक र साहसिक पर्यटनको विविधताले भरिपूर्ण सुन्दर र समृद्ध छ । जलस्रोतको उपलब्धता, विकास र औद्योगिकीकरणको अभियानसँगै कृषि उत्पादनमा यो प्रदेशले विशिष्ट पहिचान बनाएको छ ।
विश्वको सर्वोच्च शिखर सगरमाथालगायत उच्च हिमशृङ्खलाहरूको अवस्थितिले संसारका पर्यटकलाई आकर्षित गर्ने सामथ्र्य बोकेको यो प्रदेश अन्य मुलुकहरूसँगको कनेक्टिभिटीले नेपालको आर्थिक विकास र समृद्धिका लागि महत्वपूर्ण आधार मानिन्छ ।
हिमाल, पहाड र तराई मधेसको जनजीवनको समिश्रणका कारण सामाजिक र सांस्कृतिक पक्षबाट विविधताले भरिपूर्ण बनाएको छ । उच्च हिमाली जलवायुदेखि महाभारत पर्वत शृङ्खलासम्मको भौगोलिक बनावट, वानस्पातिक विविधता तथा प्राकृतिक सौन्दर्य, जैविक विविधताका मूर्त–अमूर्त साँस्कृतिक सम्पदाहरूको विशिष्टताले तुलनात्मक र प्रतिस्पर्धात्मक लाभका दृष्टिले पनि पर्यटन कोशी प्रदेशको आर्थिक विकासको प्रमुख आधार मानिन्छ ।
संविधान जारी भएसँगै नेपाल संघीय शासन प्रणालीमा प्रवेशपछि स्थापना भएको कोशी प्रदेश सरकारले प्रथम आवधिक योजनाको कार्यान्वयन कार्यवधि समापनसँगै दोस्रो आवधिक योजनाको कार्यान्वयन गर्दैछ । यो सोच र लक्ष्यलाई हासिल गर्न विभिन्न रणनीतिहरू तय गरिएको छ । लामो समयदेखि हाम्रा आर्थिक विकासका सूचकहरू सन्तोषजनक छैनन् ।
निरन्तरको न्यून आर्थिक वृद्धिको अवस्था, उत्पादनमूलक उद्योग क्षेत्रको संकुचन, न्यून उत्पादन तथा उत्पादकत्व, बढ्दो उत्पादन लागत कमजोर प्रतिस्पर्धी क्षमता, कृषिप्रति विकर्षण आधारभूत खाद्य पदार्थमा समेत परनिर्भरता, उपभोगमुखी आयात तथा न्यून निर्यात क्षमता र उच्च व्यापार घाटा आन्तरिक रोजगारीका सीमित अवसरहरूका कारण वैदेशिक रोजगारीका लागि युवा जनशक्ति पलायनजस्ता परिस्थितिबाट हामी गुज्रिरहेका छौं ।
तथापि पछिल्लो समय पर्यटन क्षेत्रमा आएको सुधारले अर्थतन्त्रको सूचक केही सन्तोषजनक छ । चालू आवमा नेपालको अर्थतन्त्रमा सुधार आउने विश्व बैंकले प्रक्षेपण गरेको छ । पछिल्लो समय पर्यटन क्षेत्र पुनरुत्थान हुँदै गएसँगै होटल व्यवसाय चलायमान हुँदा र पर्यटकबाट प्राप्त हुने आम्दानीसमेत वृद्धि हुँदै गएको छ ।
तथ्याङ्कलाई हेर्ने हो भने, गत वर्ष २०८० पुससम्म पर्यटक आगमन १० लाख १४ हजार ८८२ रहेकोमा २०८१ पुससम्म १३.० प्रतिशतले वृद्धि भई ११ लाख ४७ हजार ५८४ पुगेको छ ।
सन् २०२३ मा भ्रमण आय ७२ अर्ब ४५ करोड ५६ लाख रहेकोमा पर्यटकीय गतिविधिहरू विस्तार हुँदै जाँदा ०२४ मा १५ प्रतिशतले वृद्धि भई रु ८३ अर्ब ३९ करोड ४० लाख रुपैयाँ पुगेको छ । सन् २०२४ मा पर्यटकको औसत बसाई अवधि र प्रतिदिन खर्चमा न्यूनदरले परिवर्तन भई बसाइँ १३.३ दिन र प्रतिपर्यटक प्रतिदिन औसत खर्च ४०.८ अमेरिकी डलर कायम भएको छ ।
२०२४ मा नेपालमा भ्रमण गर्ने कुल पर्यटकमध्ये सबैभन्दा बढी ६०.४ प्रतिशतले बिदा, मनोरञ्जन, यात्राको लागि भ्रमण गरेका थिए । यसैगरी १५.३ प्रतिशतले तीर्थयात्रा, १४.५ प्रतिशतले पर्वतारोहण, साहसिक यात्रा र ९.८ प्रतिशतले अन्य उद्देश्यले नेपाल भ्रमण गरेको तथ्याङ्क छ ।
पर्वतारोहण दल हिमाल आरोहण दलको संख्या २०२४ मा २३७५ पुगेको छ । सो वर्ष पर्वतारोहीको संख्या ९,१९१ रहेको थियो । यसबाट ९२ करोड ५८ लाख रुपैयाँ रोयल्टी प्राप्त भएको छ ।
कोशी प्रदेश सरकारले पहिचान गरेका आर्थिक समृद्धिका विविध आधारहरूमध्ये पर्यटन एक महत्वपूर्ण बहुआयामिक क्षेत्र हो । माथि उल्लेखित विविधता र विशिष्टताको अनुपम पहिचानले यस प्रदेशको पर्यटन विकासमार्फत रोजगारीको सिर्जना गरी आर्थिक सुधारमा उल्लेखनीय भूमिका खेल्न सक्छ ।
यसैलाई मध्यनजर गरेर कोशी प्रदेश सरकारले पर्यटन वर्ष २०८२ को अवधारणा र कार्यक्रम अघि सारेको छ । प्रदेश सरकारले कोशी प्रदेश पर्यटन वर्ष २०८२ सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८१ स्वीकृत गरेको छ । सो कार्यविधिबमोजिम माननीय मुख्यमन्त्रीको अध्यक्षतामा मूल आयोजक समिति नै बनेको छ ।
पर्यटन वन तथा वातावरण मन्त्रीको अध्यक्षमा निर्देशन समिति रहने प्रावधान रहेको छ । यसैगरी सो कार्यक्रम सञ्चालनका लागि व्यवस्थापन समिति र सचिवालयको समेत व्यवस्था गरिएको छ । यस कार्यक्रममार्फत कोशी प्रदेशको प्राकृतिक सांस्कृतिक र साहसिक पर्यटकीय गन्तव्यहरूको पहिचान गर्दै दिगो विकासको अवधारणाअनुरूप पर्यटन प्रवद्र्धन गरी प्रदेशमा रहेका पर्यटनका अवसर र सम्भावनाको उचित उपयोगमार्फत राष्ट्रिय अर्थतन्त्रमा योगदान बढाउन संघीय सरकार, स्थानीय तह र निजी क्षेत्रसँगको सहकार्य कार्यान्वयन गर्नेगरी यस अभियानको सुरुवात ‘कोशीको गौरव हिमालको सान, पर्यटन वर्षमा सबैलाई सम्मान’ नारासाथ गुराँसको राजधानी तीनजुरे मिल्के जलजले क्षेत्रमा कोशी पर्यटन वर्ष २०८२ को सुभारम्भ भएको छ ।
प्रदेश सरकारले पर्यटन वर्षको सफल कार्यान्वयनमार्फत आन्तरिक र बाह्य पर्यटकको आगमनमा २५ प्रतिशत वृद्धि, स्थानीय स्तरमा २,००० नयाँ रोजगारीको सिर्जना र क्रमशः बढोत्तरी, पर्यटकीय पूर्वाधारमा लगानीमा निजी क्षेत्रको सहभागिता, पर्यावरण मैत्री पर्यटन विकास, कोशी प्रदेशलाई पर्यटन केन्द्रको रुपमा पहिचान र स्थापना गर्ने अपेक्षा गरिएको छ ।
पर्यटकीय सम्पदा र अनुपम बिक्री केन्द्रहरू
हिमालय शृङ्खला : नेपालको पूर्वदेखि पश्चिमसम्म करिब ८०० किलोमिटर हिमालय शृङ्खला रहेको छ । ८००० मिटरभन्दा अग्लो विश्वमा १४ वटा हिमचुली रहेका छन् तीमध्ये नेपालमा मात्र ८ हिमचुली पर्दछन । यी मध्ये कोशी प्रदेशमा सगरमाथा, कञ्चनजंगा, ल्होत्से, मकालु र चोयु हिमचुली रहेका छन् । पर्वतारोहणका लागि यी हिमशृङ्खलाले विश्व पर्यटन बजारमा प्रसिद्धि कमाएका छन् ।
पदमार्ग पर्यटन : कोशी प्रदेशमा सगरमाथा, मकालु, कञ्चनजंगा आधार शिविर जाने पदमार्गहरूले विश्वमा बर्सेनि लाखौं पर्यटक यस क्षेत्रमा आउने गरेका छन् । पछिल्लो समय स्थानीय र प्रदेश सरकारले निर्माण गरेको पदमार्गले पर्यटकमा आकर्षण थपेको छ ।
इलामको करसोङ पदमार्ग, चियाबारी पदमार्ग, निसान पदमार्ग, रेड पान्ड पदमार्ग, इलाम हुँदै ताप्लेजुङ कञ्चनजंगा साउथ बेस क्याम रामजोरसम्म पुग्ने याक पदमार्ग, फाल्गुनन्द पदमार्ग (फिदिम–छिन्ताप्पु–सन्दकपुर–माइपोखरी–इलाम), लालिगुराँस पदमार्ग (तुमम्लिङटार–खाँदबारी–नुम–गुफाफोखरी–वसन्तपुर–जलजले–तीनजुरे मिल्के), मुन्दुम पदमार्ग (तावा भन्ज्याङ–टेम्केडाँडा–हाँसपोखरी–साल्पा पोखरी–सिलिचुङ चुली) पदमार्ग रहेका छन् ।
निकुञ्ज संरक्षण क्षेत्रः कोशी प्रदेशमा सगरमाथा र मकालु बरुण राष्ट्रिय निकुञ्ज, कोशी टप्पु वन्यजन्तु आरक्षण, कञ्चनजंगा संरक्षण क्षेत्र तथा कोशीटप्पु, गोक्यो ताल र माइपोखरीजस्ता रामसार सूचीमा सूचीकृत सिमसार रहेका छन् । दुर्लभ वन्यजन्तु, बसाइँ सरी आउने चरा, दुर्लभ वनस्पति अध्ययन अनुसन्धानका लागि यो क्षेत्र अनुपम पर्यटकीय गन्तव्य हुन् ।
जल पर्यटन : वाटर टावर अफ एसिया भनेर चिनिने पूर्वमा भुटानबाट सुरु भएर पश्चिम ताजकिस्तानसम्मको हिन्दकुश क्षेत्रको जम्मा २४०० किलोमिटरमध्ये करिब ८५० किलोमिटर हिमालय शृङ्खला नेपालमै पर्छ, यो पानीको मुख्य स्रोत हो । यसमध्ये अधिकांश भूभाग कोशी प्रदेशमा रहेकाले यहाँबाट तिब्बत, हिमालय, महाभारत पर्वत र सिवालिकसम्म मुहान भएका नदीका पनि समथर भूभाग हुँदै बंगालको खाडीसम्म पुग्दछन् । जल पर्यटनका विभिन्न विधामध्ये मुख्यतया राफ्टिङ, कायाकिङ, क्यानोनिङ बोटिङ स्विमिङ फिसिङ, मोटरबोटका लागि यस प्रदेशको कोशी नदीसँगैसँगै बग्ने सहायक नदी तथा झरना उत्कृष्ट गन्तव्य हुन् ।
ऐतिहासिक स्थल : नेपालमा एकीकरण पूर्व बाइसे चौबिसे राज्यहरू थिए । पुर्व क्षेत्रमा अरूणपारि पल्लोकिराँत, पूर्वमा अरूण नदीदेखि सुनकोशी नदीसम्म माझकिराँत र सुनकोशीदेखि पश्चिमको भाग वल्लो किराँत राज्यसँगै उक्त समयका ऐतिहासिक स्थल, हिलिहाङ दरबार चौदण्डीगढी, चिशंखुगढी, धनपालगढी, हतुवागढी, मझुवागढी, साँघुरीगढी, देवानगढी, उदयपुरगढीजस्ता स्थल अध्ययन अनुसन्धानकर्ताका लागि अनुपम् ठाउँ मानिन्छ ।
धार्मिक पर्यटन : धर्तीको पहिलो तीर्थस्थल बराह क्षेत्र, हलेसी महादेव, पाथिभरा, महाभारत कथामा वर्णित विराट राजाको दरबार, किचकवध, अर्जुनधारा, कृष्ण थुम्की समेटेर महाभारत सर्किट रहेका छन् । राष्ट्रिय विभूति फाल्गुनन्द गुरुको जन्मस्थल चुची निम्बा, प्रसिद्ध धार्मिक स्थल लब्रेकुटी, सिलौटी, लारुम्बा आदिले धार्मिक पर्यटनको प्रचुर सम्भावना बोकेको छ ।
कृषि पर्यटन : कोशी प्रदेश कृषि उद्यम विकासको लागि महत्वपूर्ण मानिन्छ । फरक–फरक भौगोलिक धरातलमा फैलिएको यो प्रदेश कृषिजन्य उत्पादनको लागि अग्रणी छ । यहाँ उत्पादन हुने अलैंची, अदुवा, अकबरे, छुर्पीजस्ता नगदेबाली उत्पादन प्रणालीको अध्ययन अवलोकन गर्न देशविदेशबाट अध्ययन अनुसन्धानकर्ता आउँछन् ।
चिया पर्यटन : नेपालमा चिया खेतीको सुरुवात आजभन्दा १६० वर्षअघि भए तापनि यसको व्यवसायीकरण बीसौं शताब्दीको उत्तराद्र्धबाट मात्र सुरु भएको मानिन्छ । यसैगरी नेपाल सरकारले पूर्वी नेपालका पाँच जिल्ला (झापा, धनकुटा, तेह्रथुम, पाँचथर र इलाम) लाई चिया क्षेत्रका रूपमा घोषणा गरेर समग्र विकासलाई महत्व दिएको छ । चिया नेपालको उच्च मूल्यमा निर्यात हुने प्रमुख कृषिजन्य उपज हो । चियाको अध्ययन अवलोकन गर्न देश विदेशबाट आउने यहाँ आइपुग्छन् ।
स्वास्थ्य पर्यटन : कोशी प्रदेशमा निजी क्षेत्रको लगानीमा खुलेका सुविधासम्पन्न अस्पतालको गुणस्तरीय सेवा प्रवाहबाट भारतबाट स्वास्थ्य उपचारको लागि आउने पर्यटकको संख्या दिन प्रतिदिन वृद्धि भएको छ । यसले प्रदेशको आर्थिक वृद्धिमा महत्वपूर्ण योगदान पु¥याएको छ ।
रमणीय हिल स्टेसन : कोशी प्रदेशमा सन्दकपुर, भेंडेटार, कन्याम, पौवाजस्ता रमणीय हिल स्टेसन रहेका छन् । २०३८ सालमा बेलायती युवराजले भ्रमण गरेको भेंडेटार र २०६८ मा सीएनएनले भेंडेटार नाम्जे गाउँलाई विश्वको उत्कृष्ट १२ पर्यटकीय गन्तव्यको सूचीमा राखिसकेकाले यो क्षेत्रमा पर्यटकको संख्या उलेख्य मात्रामा बढेको छ ।
थुम्काथुम्की डाँडाहरूमा फैलिएका चिया बगानको अवलोकन गर्न कन्याममा स्वदेशी विदेशी पर्यटकको घुइँचो लाग्ने गरेको छ । कञ्चनजंगा हिमालको काखमा रहेका सन्दकपुर र पौवा भन्ज्याङ हिल स्टेसन कोशी प्रदेशको प्रमुख गन्तव्यको रुपमा परिचिंत छन् ।
समाज सुधारक, धार्मिक तथा साहित्यिक व्यक्तित्वको जन्मथलो : बालागुरु षडानन्द अधिकारी, योगमाया, माहागुरु फाल्गुनन्द, युगकवि सिद्धिचरण श्रेष्ठ, भाषाशास्त्री महानन्द सापकोटाजस्ता व्यक्तित्वको जन्मथलो अध्ययन अनुसन्धानकर्ताको उपयुक्त गन्तव्य बनेको छ ।
पर्यटन उद्योग यात्रासँग सम्बन्धित विभिन्न क्रियाकलाप, सेवा र व्यवसायको सामूहिक स्वरूप भएकाले यससँग सम्बन्धित धेरै कुराहरूको योगफलबाट नै पर्यटन अगाडि बड्दछ । पर्यटन विकासका लागि सम्बन्धित सबै पक्षको समन्वयात्मक भूमिका रहन्छ । तर पर्यटनका लागि केही आधारभूत कुराहरू आवश्यक हुन्छन् ।
यस्तोमा गन्तव्यस्थलसँगै यातायात, बसोबास र सरसुविधा नै हुन् । पर्यटक आगमनका दृष्टिले कोशी प्रदेश आन्तरिक, सीमावर्ती र बाह्य तीनवटै बिन्दुमा उपयुक्त छ । पछिल्लो समय कोशी प्रदेशमा सुविधा सम्पन्न तारे होटेल निर्माण हुने क्रम बढेको छ । अहिले ४ वटा पाँच तारे होटल सञ्चालनमा छन्, अन्य निर्माण क्रममा रहेका छन् । कोशी प्रदेशका पर्यटकीयस्थलमा स्थानीयले होमस्टे सञ्चालन गर्ने क्रम बढेको छ ।
झापा, मोरङ, सुनसरी जिल्लामा वाटर पार्क, रिफ्रेसमेन्ट पार्क निर्माणसँगै सुविधा सम्पन्न अस्पताल निर्माणमा लगानी भित्रिने क्रम बढेको छ । यहाँ भारतीय पर्यटकका लागि स्वास्थ्य उपचारसँगै विवाह, सभा सम्मेलनको लागि आउने क्रम पनि बढेको छ । भारतीय पर्यटकको यात्रालाई सहज बनाउन प्रदेश सरकारले स्टिकरको व्यवस्था गरेर केही सहजीकरण गरेको छ ।
संघीय सरकारले भारतीय पर्यटकलाई नेपाल प्रवेश गर्दा साथमा ल्याउन सक्ने नगदको सीमा हटाएको छ । अब भारतीयले पनि अन्य देशका पर्यटकसरह ५ हजार अमेरिकी डलर बराबर विदेशी मुद्रा वा ट्राभलर्स चेक बोक्न सक्ने व्यवस्था गरेको छ ।
प्रदेश सरकार स्थापनापश्चात् कोशी प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यहरूमा सूचना केन्द्रहरू स्थापना भई सञ्चालनमा छन् ।
तथापि यिनमा भौतिक पूर्वाधार, जनशक्ति तथा सूचना प्रविधिको पर्याप्तताको अभाव रहेको छ । यी सूचना केन्द्रहरूलाई आधुनिक प्रविधिको प्रयोग गरेर पर्यटकलाई मार्गदर्शन गर्ने, गन्तव्यहरूको विस्तृत विवरण उपलब्ध गराउने, पर्यटकहरूको भावना यस प्रदेश र गन्तव्यप्रतिको अनुभव प्राप्त गरी सोबाट सिकाइ हासिल गर्ने एवं सुधार गर्ने कार्यमा सूचना केन्द्रहरूलाई अधिकतम उपयोग गर्ने कार्यको सुरुवात भएको छ ।
पर्यटन आफैंमा सामूहिक र सहकार्यमा आधारित सेवामूलक क्षेत्र हो । सोच, लगानी, विकास, प्रवद्र्धन र सञ्चालन सबै तहमा सामूहिकता र साझेदारी अनिवार्य शर्त हो । गन्तव्यहरूको विकास, सर्वसुविधा स्तरोन्नति, स्तरीय पर्यटकमैत्री होटल, यातायात र पूर्वाधार विकासका क्षेत्रमा सरकार र निजी क्षेत्रको साझेदारी आवश्यक छ ।
यसका साथै पर्यटन क्षेत्रमा देखिएका संरचनागत र गुणस्तरसम्बन्धी चुनौती, होटल, होमस्टे प्रवाह गर्ने सेवाको गुणस्तर मापदण्डलाई लागू गराउन प्रभावकारी नियमनका साथै यस क्षेत्रको दक्ष जनशक्ति विकासमा सबन्धित सबै सरोकारवालाहरूको सहकार्य आवश्यक रहेको छ ।
अन्त्यमा
कोशी प्रदेश पर्यटन वर्ष– २०८२ को घोषणा प्रदेशकै समृद्धि र दिगो विकासका लागि एउटा दूरदर्शी प्रयास हो । तीनै तहका सरकार, निजी क्षेत्र तथा सम्बद्ध सरोकारवालालगायत पर्यटनका सबै क्षेत्रलाई एकीकृत गरी पर्यटनमार्फत समग्र अर्थतन्त्रमा सुधार र प्रदेशवासी नागरिकहरूको समृद्धिमा टेवा पु¥याउने लक्ष्यसहितको अभियान प्रदेशका लागि दीर्घकालीन परिवर्तनको बाहक बन्ने अपेक्षा गरिएको छ । यसका लागि सम्बधित सबै सरोकारवालाबीचको सहकार्य र सहअस्तित्व अपरिहार्य छ ।
प्रकाशित मिति: १२ श्रावण २०८२, सोमबार







