लोककवि अलिमियाँका गीत ‘रेकर्ड’ गरिने
काठमाडौँ, १९ साउन । लोककवि अलिमियाँका केही गीतहरू स्थापित गायक गायिकाको स्वरमा ‘रेकर्ड’ गरिने भएका छन् ।
अलिमियाँ लोकवाङ्मय प्रतिष्ठान, पोखराको अगुवाई तथा गायिका लोचन भट्टराईको सक्रियतामा गीत रेकर्ड गरिने भएका हुन् ।
लोककवि अलिमियाँको १९औँ स्मृति दिवसका अवसरमा ‘कन्सेप्ट नेपाल’ले काठमाडौँमा आयोजना गरेको ‘सम्झनामा लोककवि’ कार्यक्रममा गायिका भट्टराई यसबारे जानकारी दिनुभएको हो ।
उहाँकै प्रस्तावमा प्रतिष्ठान अलिमियाँका गीत रेकर्ड गराउन अग्रसर भएको हो । “अलिमियाँ जिवितै छँदा उहाँका कुनै गीत गाउन पाइएन’, गायिका भट्टराईले भन्नुभयो, “अब हामी मिलेर उहाँका गीत रेकर्ड गछौँ ।”
कास्कीको पोखरा मियाँपाटनमा १९७५ फागुन १५ गते जन्मिनुभएका लाककवि अलिमियाँ नौ वर्षको उमेरदेखि नै लोकसङ्गीतमा लाग्नुभएको थियो । उहाँका गीति किताबहरू पनि प्रकाशन गरिएका छन् । नेपाली लोकसाहित्य उन्नयनमा जीवन समर्पित गर्नुभएका उहाँको २०६३ साउन १८ गते निधन भएको थियो ।
अलिमियाँको निधनपछि उहाँका छोरा हनिफ मियाँको अध्यक्षतामा ‘अलिमियाँ लोकवाङ्मय प्रतिष्ठान’ गठन गरिएको हो । “प्रतिष्ठानले लोककविको योगदानलाई संसारभर फैलाउन, चिरस्थायी बनाउन र लोकसाहित्य साधकको सम्मान गर्ने काम गर्दै आएको छ”, अध्यक्ष मियाँले भन्नुभयो ।
लोककवि अलिमियाँबारे यसअघि ‘लोककवि अलिमियाँ’ पुस्तक प्रकाशन समेत भइसकेको छ । उक्त पुस्तक पत्रकार अमृत भादगाउँलेले २०५८ सालमा प्रकाशन गर्नुभएको हो ।
प्रकाशित मिति: १९ श्रावण २०८२, सोमबार







