विश्व विजेता जर्मनीले इंग्ल्याण्डलाई हरायो



काठमाण्डौ, चैत्र १०

विश्व विजेता जर्मनीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्याण्डलाई हराएको छ । विश्वकप २०१८ को छनौटको तयारीमा रहेका बेला बुधबार राति भएको खेलमा जर्मनीले इंग्ल्याण्डलाई १–० ले हराएको हो । घरेलु मैदानमा भएको खेलमा जर्मनी पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको थियो । तर ६९ औं मिनेटमा लुकास पोडोस्कीले जर्मनीका लागि विजयी गोल गरे ।

ग्यारेथ साउथगेटको प्रशिक्षणमा रहेको इंग्ल्याण्डका जेमी भर्डीले पहिलो हाफमा पेनाल्टीको अपिल गरेका थिए तर पाएनन् । साम एलार्डाइस बर्खास्त भएपछि अन्तरिम प्रशिक्षकका रुपमा भएका चार खेलमा अपराजित रहेका साउथगेटले प्रशिक्षकमा नियुक्त भएपछिको पहिलो खेलमा भने इंग्ल्याण्डलाई हारबाट जोगाउन सकेनन् ।  एडम लल्लाना र डेल अलीले पोस्ट प्रहार गरेका थिए तर गोल हुन सकेन ।

यसैबिच अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका पोडोस्कीले इंग्ल्याण्डसँगको खेलमा टिमको कप्तानी गर्दै जर्मनीका लागि विजयी गोल गरे । उनको यो विदाई निकै शानदार रह्यो । उनलाई डर्टमुण्डको रंगशालमा रहेका दर्शकले उठेर अभिवादन गरेका थिए । जर्मनीको राष्ट्रिय टिमबाट एक सय ३० खेल खेलेका पोडोस्कीले ४९ गोल गरेका छन् ।

सन् २००४ मा सिनियर राष्ट्रिय टिममा डेब्यु गरेका उनले सात वटा मुख्य अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् । उनले सन् २००६ को विश्वकपमा बेष्ट योङ प्लेअरको अवार्ड जितेका थिए । पोडोस्कीलाई मैदानमै विशेष कार्यक्रम गरेर विदा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News