ट्रेलब्लेजर्स नेपालको आयोजनामा बुद्धभूमिदेखि स्वरेक हुँदै ढोरपाटनसम्म मोटरसाइकल यात्रा



मणिग्राम । पश्चिम नेपालका पर्यटकीय गन्तव्यहरूमा मोटरसाइकल यात्रा (Motorbike Tour) सञ्चालन गर्दै आएको ट्रेलब्लेजर्स नेपाल (Trailblazers Nepal Pvt. Ltd) ले गत एक महिनामा दुई सफल यात्रा सम्पन्न गरेको छ।

रूपन्देहीको मणिग्राममा केन्द्रित रहेर पदयात्रा र भ्रमणलाई मुख्य लक्ष्य बनाएको यस कम्पनीले पहिलो चरणमा स्याङ्जाको स्वरेक मैदान र दोस्रो चरणमा कपिलवस्तुको बुद्धभूमि नगरपालिका अन्तर्गतका ऐतिहासिक क्षेत्रहरूमा मोटरसाइकल यात्रा सम्पन्न गरेको हो।

“शान्तिका लागि यात्रा” भन्ने उद्घोषसहित सम्पन्न कपिलवस्तु यात्रामा १९ जना चालकसहित २३ जनाको सहभागिता रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत भरत सुवेदीले जानकारी दिनुभयो। यात्राका क्रममा ऐतिहासिक स्थलहरूको प्रत्यक्ष प्रसारण, भिडियो ग्राफी, फोटोग्राफी र लघु वृत्तचित्र निर्माण समेत गरिएको थियो।

कार्यक्रम सञ्चालक तथा महिला चालक प्रतिमा ढकालका अनुसार यात्रामा सहभागीहरूले क्रकुच्छन्द बुद्ध, कनकमुनि बुद्ध, शाक्यमुनि बुद्धसँग सम्बन्धित स्थलहरू—तिलौराकोट, निग्लिहवा, गोटिहवा, कुदान, ओरौराकोट, सगराहवा, तौलिहवा हुँदै जगदीशपुर तालसम्मको अवलोकन गरेका थिए।

सहभागीहरूले ती स्थलहरू अवलोकन गर्दै बौद्ध धर्मको गहिरो अनुभूति, बुद्धको जीवनपद्धति तथा नेपालमा रहेका सांस्कृतिक सम्पदाको महत्व बुझ्ने अवसर पाएको कार्यक्रम संयोजक रोशन क्षेत्रीले बताउनुभयो।

स्थानीय पर्यटन, संस्कृति र आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने उद्देश्यले यस्ता यात्राहरू सञ्चालन गरिएको र आगामी दिनमा अझै व्यवस्थित ढंगले विस्तार गरिने कम्पनीले जनाएको छ। यात्रामा खाजा, भोजन, पानी, फोटोग्राफी, भिडियोग्राफीजस्ता सेवा समावेश गरिन्छ।

यसै क्रममा कम्पनीले यही भदौ १३ देखि १५ गतेसम्म रूपन्देहीबाट ढोरपाटनसम्मको ३ दिने मोटरसाइकल यात्रा पनि सञ्चालन गर्ने जानकारी भरत सुवेदीले दिनुभयो।

प्रकाशित मिति: २२ श्रावण २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्