छोरालाई भेट्न जाँदै गर्दा दुर्घटनामा परेर श्रीमतीको मृत्यु, श्रीमान घाइते
काठमाडौं, साउन २५ । हेटौंडामा रहेका छोरालाई भेट्न जानेक्रममा दुर्घटनामा परेर श्रीमतीको मृत्यु भएको छ भने श्रीमान घाइते भएका छन् ।
रामेछापबाट खुर्कोट हुँदै हेटौंडा जाँदै गरेको डबलक्याप स्कारपियो जीप दुर्घटना हुँदा मन्थली नगरपालिका–११ कि ४१ वर्षीया राधा कार्की चौहानको मृत्यु भएको हो । दुर्घटनामा उनको श्रीमान ४६ वर्षीय उत्तम चौहान घाइते भएका छन् । उनलाई थप उपचारका लागि काठमाडौं पठाएको छ ।
बीएससी ९४६३ नम्बरको जीप आइतबार बिहान मन्थली–६ कुनौरीमा दुर्घटनामा परेको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले लोकान्तरलाई जानकारी दिए । जीप सडकबाट अन्दाजी ३०० मिटर तल बोक्से भिरमा अड्किई क्षत–विक्षत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २५ श्रावण २०८२, आइतबार










