हर्कको प्रश्न- प्रधानमन्त्रीलाई गाली गर्दा पक्राउ पर्ने मलाई ज्यानै मार्ने धम्की दिँदा पनि किन परेनन् ?
काठमाडौं। प्रतिनिधिसभा सांसद हर्क साम्पाङले सामाजिक सञ्जालमा सुन्न नसक्ने गालीगलौज आइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठक बोल्दै श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका साम्पाङले सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री वालेन्द्र शाहलाई लक्षित गर्दै अपमानजनक तथा गालीगलौजपूर्ण सामग्री पोस्ट गरेको आरोपमा पक्राउ परेर पुर्पक्षका लागि जेल चलान भएका रोशन पोख्रेलको विषयउठान गर्दै सरकारविरुद्ध लेख्दै बोल्दैमा थुनिहाल्नुपर्ने हो भन्दै प्रश्न पनि गरेका छन् ।
‘प्रधानमन्त्रीलाई एकजना व्यक्तिले गाली गर्नुभएछ । उहाँलाई पक्राउ गरेर पुर्पक्षमा पठाइयो भन्ने सुनिएको छ । एउटा नागरिकलाई सच्चिने मौका दिनुपर्छ,’ उनले भने ।
उनले प्रधानमन्त्री, मन्त्रीहरूलाई गाली गर्दा पक्राउ परिहाल्ने, सांसदहरूलाई गाली गर्दा पक्राउ पर्नुपर्ने कि नपर्ने ? भन्दै थप प्रश्न गरे।
‘मलाई पनि दुईजना व्यक्तिले ज्यानै मार्नेसम्मको अभिव्यक्ति दिनुभयो। मैले साइबर ब्युरोमा रिपोर्ट गरेँ तर ती व्यक्तिहरू पक्राउ परेनन्। के आफ्ना समर्थकले जे भन्दा पनि छुट हुन्छ भन्ने हो ?’ उनले थप भने ।
प्रकाशित मिति: २४ असार २०८३, बुधबार










