जग्गा विवाद उग्र बन्दा चक्कु प्रहार गरी एक जनाको हत्या, बुबाछोरा पक्राउ
रौतहट । रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा जग्गासम्बन्धी विवाद उग्र बन्दा चक्कु प्रहारबाट एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ईशनाथ नगरपालिका–१ बन्जरहाका ६० वर्षीय वुटन साह रहेका छन् ।
वुटन औरैयास्थित ८० वर्षीय ससुरा रामबहादुर साहको घरमा बस्दै आएका बस्दै आएका थिए ।
प्रहरीका अनुसार चक्कु प्रहारबाट पिठ्युँमा गम्भीर घाइते भएका वुटन साहलाई उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको थियो ।
उपचारकै क्रममा मंगलबार राति चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।
यसैगरी घटनामा टाउकोमा चोट लागेर घाइते भएका रामबहादुर साहको स्थानीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
रौतहट प्रहरीका अनुसार घटनामा संलग्न रहेको आरोपमा २६ वर्षीय राममहेश्वर साह र उनका ६३ वर्षीय बाबु रामऔतार साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
स्थानीयका अनुसार जग्गाको स्वामित्वलाई लिएर लामो समयदेखि चल्दै आएको विवादले उग्र रूप लिँदा उक्त घटना भएको हो ।
प्रकाशित मिति: २४ असार २०८३, बुधबार










