रास्वपा बर्खाको भेल जस्तै सुकेर जान्छ, अहिलेको सरकार ढल्नेवाला छैन : अर्थमन्त्री पौडेल



पाल्पा । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बर्खा नसकिँदै सकिने खहरेको भेल जस्तै भएको टिप्पणी गरेका छन् ।

आज नेपाल पत्रकार महासंघ पाल्पाद्वारा तानसेनमा आयोजित पत्रकार भेटघाट कार्यक्रम सम्बोधन गर्दै उनले रास्वपा राजनीति बर्खामा आउने खहरे जस्तै भएको बताएका हुन्।

उनले भने- ‘एउटा बर्खा नसकिँदै खहरेको बाढी सुक्छ। कमिला हिँड्न थाल्छन्, रास्वपा पनि अब हराउँदै जानेछ । विरोधमा रमाएर गरिने राजनीति लामो समय टिक्दैन । बेकारमा समय खेर फालिरहेका छन् ।’

नेपालमा उनीहरूको भविष्य नरहेको पनि पौडेलले बताए।

उनले थपे- ‘अहिलेको सरकार ढल्नेवाला छैन । सरकार ढल्छ भनेर सपना नदेखे हुन्छ । अस्थिरताको खोजी गर्ने दिन गयो। मुलुकको सुरक्षित भविष्यका लागि दुई ठूला दल मिलेर सरकार बनाएका हौं। यही सरकारले मुलुकको भविष्य बनाउँछ । नेकपा माओवादी केन्द्रले मुलुकलाई अस्थिरतामा लैजान खोजेपछि कांग्रेस-एमाले मिलेर रोकेका हौँ ।’

मुलुकको सुरक्षित भविष्यका लागि दुई ठूला दल एमाले-कांग्रेस मिलेर सरकार सहमतिअनुसार नै अगाडि बढेको उनले जिकिर गरे।

प्रकाशित मिति: १ भदौ २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्