विपिनकी आमा र बहिनीले इजरायली राष्ट्रपति र संसदका अध्यक्षलाई भेटे
काठमाडौं । प्यालेस्टाइनी लडाकु समूह हमासले बन्धक बनाएका कञ्चनुपरका विपिन जोशीकी आमा र बहिनीले इजरायली राष्ट्रपति र संसदका अध्यक्षलाई भेटेका छन् ।
विपिनको खोजीको लागि इजरायल पुगेकी आमा पद्मा र बहिनी पुष्पाले राष्ट्रपति आइज्याक हर्जोग र संसद अध्यक्ष अमिर ओहानासँग भेटवार्ता गरेका हुन् ।
इजरायलस्थित नेपाली दूतावासको समन्वयमा भएको भेटवार्ताका क्रममा आमा पदमाले विपिनको तत्काल रिहाइका लागि पहल गरिदिन राष्ट्रपति हर्जोगसँग अनुरोध गरेकी थिइन् ।
बहिनी पुष्पाले पनि बन्धक बनाइएका दाजुलाई सुरक्षित नेपाल फर्काउन विशेष पहल गर्न आग्रह गरेको राजदूत धनप्रसाद पण्डितले जानकारी दिए ।
दूतावासका अनुसार राष्ट्रपति हर्जोगले विपिनको घटनाबारे आफू र सरकार निरन्तर सचेत रहेको बताएका थिए ।
साथै, नेपाली सरकार पक्षले समेत सम्बन्धित अरब मुलुकहरूसँग थप पहल गर्न सके प्रगति हुने विश्वास उनले व्यक्त गरेका थिए ।
संसद अध्यक्ष अमिरसँग पनि विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गरिएको छ । अमिरले पनि विपिनबारे रिहाइको प्रयास जारी राखेको जवाफ दिएका थिए ।
कृषिका विद्यार्थी विपिन ‘सिक्दै कमाउँदै’ कार्यक्रमका लागि इजरायल गएका थिए । हमालसले इजरायलमा आक्रमण गरेपछि उनी २०८० असोज २० गतेदेखि सम्पर्कमा छैनन् ।
प्रकाशित मिति: २ भदौ २०८२, सोमबार












