सरकारलाई सभामुखको निर्देशन- संसद्मा सांसदहरूले उठाएका गम्भीर प्रश्नको जवाफ दिनू



काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले सरकारलाई प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिन निर्देशन दिएका छन् ।

आज बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अर्यालले आकस्मिक र शून्य समयमा सांसदहरूले उठाएका गम्भीर तथा महत्त्वपूर्ण प्रश्नहरूको जवाफ दिन निर्देशन दिएका हुन् ।

उनले भने- ‘माननीय सदस्यहरूले उठाउनुभएका गम्भीर विषयहरूका सम्बन्धमा जवाफ दिन तथा देशका विभिन्न भागमा बाढी, पहिरो र डुबानका कारण हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न र विपद् व्यवस्थापनको पूर्वतयारीका सन्दर्भमा भएका कामकारबाहीबारे जानकारी गराउन म नेपाल सरकारलाई निर्देश गर्दछु ।’

सभामुखले सम्भावित प्राकृतिक विपद् व्यवस्थापनको पूर्वतयारीबारे सदनलाई जानकारी गराउन पनि निर्देशन दिए।

साथै सभामुख अर्यालले आकस्मिक र शून्य समयमा सांसदहरूले उठाएका जनसरोकारका गम्भीर एवं महत्त्वपूर्ण बन्न पनि सरकारलाई निर्देश गरे।

आजकै प्रतिनिधिसभामा प्रतिपक्ष र सत्तापक्ष दुवैतिर सांसदहरूले कर्णालीमा हालै भएको सवारी दुर्घटनाको विषयमा सरकारले समयमै उद्धार नगरेको भनेर आलोचना गरेका थिए ।

यो विषयमा सत्तारुढ दलबाट समेत गृहमन्त्रीले जवाफ दिनुपर्ने माग पनि उठेको छ।

दुवैतिरबाट ध्यानाकर्षण भएपछि सभामुखले जवाफ दिन सरकारलाई निर्देश गरेका हुन् ।

प्रकाशित मिति: २२ असार २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्