सरकार विपिनको रिहाइका लागि जुटिरहेको छ : प्रधानमन्त्री ओली
काठमाडौं, भदौ २ । प्रधानमन्त्री केपी शर्मा ओलीले इजरायलमा हमास समूहको कब्जामा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि सरकार पहल गरिरहेको बताएका छन् ।
उनले विपिनको सुरक्षासँगै शीघ्र रिहाइका लागि सरकार हरसम्भव पहलमा जुटिरहेको बताए ।
सोमबार बिहान सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्री ओलीले विपिनको रिहाइका लागि सरकारले हालसम्म गरिरहेका पहलबारे बताएका हुन् ।
उनका अनुसार इजरायलस्थित नेपाली दूतावासको समन्वयमा हालै विपिनकी आमा पद्मा जोशी र बहिनी पुष्पाले इजरायलका राष्ट्रपति इसाक हर्जोग र संसद् अध्यक्ष आमिर ओहानासँग भेट गरी रिहाइका लागि आग्रह गरेका छन् ।
प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘यसअघि मध्यपूर्वको शान्तिका लागि पहल गरिरहेका टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग गत चैत ७ गते र इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुसैन खालिलसँग गत फागुन २८ गते मैले यस विषयमा ध्यानाकर्षण गर्दै फोन संवाद गरेको थिएँ । सरकार विपिनको सुरक्षालाई प्राथमिकता दिँदै हरसम्भव पहलमा जुटिरहेको छ’, प्रधानमन्त्री ओलीले लेखेका छन् ।
उनका अनुसार विपिनको सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न परराष्ट्र मन्त्रालयले खाडी क्षेत्रका नेपाली दूतावासमार्फत निरन्तर संवाद गरिरहेको छ ।
प्रकाशित मिति: २ भदौ २०८२, सोमबार












