नक्कली शैक्षिक प्रमाणपत्रको भण्डारसहित एक भारतीय पक्राउ
रुपन्देही । नेपाल–भारतका विभिन्न विश्वविद्यालयको हजारौँ नक्कली शैक्षिक प्रमाणपत्र र अन्य सामाग्रीसहित प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
रुपन्देही प्रहरीले भारतको कानपुर नौवस्ती निवासी २५ वर्षीय अभिषेक यादवलाई सीमावर्ती क्षेत्र बेलहियाबाट पक्राउ गरेको हो ।
प्रहरीले उनको साथबाट नेपाली तथा भारतीय विश्वविद्यालयका नक्कली शैक्षिक प्रमाणपत्रका साथै विभिन्न कागजपत्र, स्ट्याम (छाप), होलोग्राम, स्टिकर लगायतका सामग्रीहरू ठूलो परिमाणमा बरामद गरेको जनाएको छ ।
पक्राउ परेका यादव यस खालको नक्कली शैक्षिक प्रमाणपत्र बनाउने स्थानको कर्मचारी हुन् ।
प्रहरीका अनुसार यादवको साथबाट त्रिभुवन विश्वविद्यालयको ट्रान्सक्रिप्ट १ सय थान, ३६ वटा प्रमाणपत्र, होलोग्राम ४ हजार ४० थान, उच्च माध्यमिक शिक्षा परिषद् लेखेको होलोग्राम २ हजार थान, राष्ट्रिय परीक्षा बोर्ड लेखेको होलोग्राम १ हजार ७ सय ग्राम र सिटीइभीटी लेखेको होलोग्राम १ हजार ९ सय थान बरामद भएको छ ।
यसैगरी भारतको एमीटी (उत्तर प्रदेश) का ८० वटा नक्कली मार्कसिट, ४० वटा प्रोभिजनल सर्टिफिकेट, ६० वटा चारित्रिक सर्टिफिकेट र ४९ वटा अन्य खाली प्रमाणपत्र र ४० वटा खाली लोगो फेला परेको छ ।
जवाहारलाल नेहरु टेक्निकल युनिभर्सिटी हैदराबाद, छत्रपति साहूजी महाराज युनिभर्सिटी, कानपूर, असम उच्च माध्यमिक शिक्षा परिषद्, कुरुक्षेत्र विश्वविद्यालय, आन्ध्र विश्वविद्यालयका सहित हजारौँ नक्कली शैक्षिक प्रमाणपत्रसहित अवैध कारोबारका लागि प्रयोग भइरहेका विभिन्न विश्वविद्यालय तथा कार्यालयहरूको नाम लेखिएका दर्जनौं नक्कली स्ट्याम्प र छाप बरामद गरिएको छ ।
यस्तै चारवटा पेनड्राइभ, एक थान एचपी कम्पनीको ल्यापटप, एक थान आइफोन, एक थान रियलमी मोबाइल, तीनवटा एटीएम कार्ड, भारु १८ हजार ५ सय रुपैयाँ र नेपाली ३ हजार २५ रुपैयाँ नगद पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: ३ भदौ २०८२, मंगलबार












