आज ऋषि पञ्चमी पर्व मनाइँदै
काठमाडौं । भाद्र शुक्ल पञ्चमी अर्थात ऋषि पञ्चमी पर्व मनाउँदैछ । आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजाआराधना गरि यो पर्व मनाउँछन् ।
महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने चलन छ । कुनै त्रुटि भएको भए आज ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ ।
नारीलाई रजस्वलाको प्रथम दिन चाण्डाल्नी, दोस्रो दिन ब्रह्मघातिनी, तेस्रो दिन धोबिनी र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ । यसैकारण आजको दिन दतिवन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले दोष निवारण हुन्छ भन्ने शास्त्रीय वचन रहेको छ ।
यसरी स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ । जसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ ।
रजस्वला भएका महिलाको शरीरबाट निस्कने विकृत रजका कीटाणुले नराम्रा रोग निम्त्याउने र त्यसले गर्दा महिलालाई नै समस्या हुने भएकाले आजको दिनमा अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यस्तो समस्याबाट मुक्त भइने जनविश्वास छ ।
आज स्नान गरी पूजाआजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कला आदि खाई एक छाक हविष्य बस्नुपर्ने व्रतविधि छ ।
प्रकाशित मिति: १२ भदौ २०८२, बिहिबार












