सीआईबीको नाममा धम्कीपूर्ण इमेल पठाएर ठगी प्रयास, विश्वास नगर्न आग्रह
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आफ्नो संस्था तथा संस्था प्रमुखको नाम दुरुपयोग गर्दै विभिन्न व्यक्तिलाई इमेलमार्फत धम्कीपूर्ण सन्देश पठाइएको जानकारी प्राप्त भएको बताउँदै यसबारे अनुसन्धान थालेको छ।
प्रहरी वरिष्ठ उपरीक्षक तथा सीआईबीका प्रवक्ता अनुपम शमशेर जबराले प्रेस विज्ञप्ति जारी गर्दै केही व्यक्तिले आफ्नो नाम प्रयोग गरी विभिन्न व्यक्तिलाई इमेलमार्फत कानुनी कारबाहीको डर देखाउँदै तत्काल सम्पर्क गर्न दबाब दिने प्रकृतिका सन्देश पठाइरहेको जानकारी गराएका हुन् ।
विज्ञप्तिअनुसार ती इमेलहरूमा “यदि तपाईंविरुद्ध केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० बाट कानुनी कारबाही हुन नदिन चाहनुहुन्छ भने तुरुन्त यस सन्देशको जवाफ दिनुहोस्, अन्यथा अदालतमा मुद्दा दायर गरिनेछ” भन्ने आशयका अंग्रेजी सन्देश प्रयोग गरिएको छ।
सीआईबीले यस्ता सन्देशहरू अनधिकृत रहेको स्पष्ट गर्दै ती इमेलहरू ब्युरो वा ब्युरो प्रमुखबाट नपठाइएको जनाएको छ। ब्युरोले आफ्नो नाम प्रयोग गरी कुनै पनि व्यक्तिलाई इमेल वा यस्ता प्रकारका पत्राचार नगरेको पनि स्पष्ट पारेको छ।
ठगी गर्ने नियतले पठाइएका ती ईमेलमा सीआईबीको नाम प्रयोग गरी कानुनी कारबाहीको धम्की दिने गरिएको पाइएको छ ।
त्यस्ता इमेलमा “यस मुद्दाको गम्भीरतालाई ध्यानमा राख्दै, मैले व्यक्तिगत रूपमा तपाईंलाई सम्पर्क गर्ने निर्णय गरेको छु । यदि तपाईं केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० बाट आफूविरुद्ध कुनै कानुनी कारबाही होस् भन्ने चाहनुहुन्न भने, तुरुन्तै यो मेसेजको जवाफ दिनुहोस् । यदि तपाईंको तर्फबाट कुनै प्रतिक्रिया आएन भने म सीआईबीलाई अदालतमा मुद्दा दायर गर्न अनुमति दिनेछु र अदालती आदेशको प्रतिलिपि तपाईंलाई पठाइनेछ ।” भन्ने जस्ता सन्देश लेखिएको पाएको पनि सिआइबीले उल्लेख गरेको छ।
यस्ता भ्रामक तथा अफवाहपूर्ण इमेलहरूमा विश्वास नगर्न र प्राप्त भएमा त्यसको आधारमा कुनै प्रतिक्रिया नजनाउन ब्युरोले सर्वसाधारणलाई आग्रह गरेको छ। आवश्यक जानकारी वा पुष्टि गर्न सम्बन्धित निकायसँग सम्पर्क गर्न पनि अनुरोध गरिएको छ।
सीआईबीका अनुसार यस घटनासम्बन्धमा नेपाल प्रहरीको साइबर ब्युरोबाट आवश्यक अनुसन्धान भइरहेको छ। यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूमाथि प्रचलित कानुनबमोजिम आवश्यक कारबाही गरिने ब्युरोले जनाएको छ।
प्रकाशित मिति: २१ असार २०८३, आइतबार












