जडिबुटीमा बससँग स्कुटर ठोकिँदा दुई युवकको मृत्यु
काठमाडौं । काठमाडौंको जडिबुटीमा रोकिराखेको बसमा स्कुटर ठोकिँदा दुई युवकको मृत्यु भएको छ ।
आकाशेपुल नजिकै रोकिएको बा .प्र. ०१–००६ ख ४२४३ नम्बरको अरनिको यातायातको बसको पछाडि आज (शुक्रबार) बिहान कोटेश्वरबाट जडिबुटीतर्फ जाँदै गरेको लु.४३ प ४९३८ नम्बरको स्कुटर बसको पछाडि ठोकिएको हो ।
दुर्घटनामा स्कुटर चालक नवलपरासीको सुनौल नगरपालिका घर भई हाल भक्तपुरको लोकन्थली बस्दै आएका २२ वर्षीय शिरिस पौडेल र काभ्रेको पाँचखान नगरपालिका–२ होस्के घर भएका २३ वर्षीय नितेश नेपाल रहेको जिल्ला प्रहरी परिसर काठमाण्डुका एसपी अपिलराज बोहोराले जानकारी दिए ।
्
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई उपचारको लागि तत्काल ट्रमा सेन्टर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
बस चालक दोलखा घर भइ हाल काँडाघारी बस्ने वर्ष २५ का सुभाष तामाङलाई प्रहरीले नियन्त्रणमा राखेर अनुसन्धान अगाडि बढाएको जनाएको छ ।
प्रकाशित मिति: १३ भदौ २०८२, शुक्रबार












