मन्त्रीले फिर्ता हुन नमानेपछि सरकारबाटै बाहिरिँदै दुई दल
काठमाडौं । सरकारमा पठाइएका मन्त्रीले फिर्ता हुन नमानेपछि दुईवटा मधेशवादी दलले सरकारबाटै बाहिरिने तयारी गरेका छन् ।
सरकारमा सहभागी मन्त्रीले पार्टीलाई नटेरेपछि अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले सरकारबाट बाहिरिने निष्कर्षमा पुगेका हुन् । यद्यपि यी दुबै दलले सरकारलाई दिएको समर्थन भने कायम राख्ने जनाएका छन् ।
जसपाबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह र खानेपानीमन्त्री प्रदीप यादवलाई फिर्ता बोलाउने निर्णय पार्टीले गत शनिबार (७ भदौ)मा गरेको थियो ।
सोहीअनुसार त्यसको भोलिपल्ट ८ भदौमा जसपाले मन्त्रीद्वय साह र यादवलाई फिर्ता गरी पार्टीका सांसदद्वय डा. वीरेन्द्र महतोलाई खानेपानीमन्त्री र रञ्जु झालाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीका लागि सिफारिस गरेको थियो ।
महन्थ ठाकुर नेतृत्वको लोसपाबाट शरतसिंह भण्डारी श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री छन् । उनलाई फिर्ता बोलाएर सर्वेन्द्रनाथ शुक्लालाई पठाउने तयारी थियो । तर उनले पनि राजीनामा दिएका छैनन् । राजधानी दैनिक
प्रकाशित मिति: १३ भदौ २०८२, शुक्रबार












