प्रधानमन्त्री ओली आज चीन भ्रमणमा जाँदै, को–को छन् टोलीमा ?
काठमाडौं, भदौ १४ । प्रधानमन्त्री केपी शर्मा ओली आज (शनिबार) पाँच दिने भ्रमणका लागि छिमेकी मुलुक चीन प्रस्थान गर्दैछन् ।
चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ)को शिखर सम्मेलनमा भाग लिन ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन जान लागेका हुन् ।
भ्रमण टोलीमा प्रथम महिला श्रीमती राधिका शाक्य, पूर्व उपप्रधानमन्त्री एवं प्रतिनिधिसभा सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री एवं प्रधानमन्त्रीको आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्मा, सरकारका उच्चपदस्थ कर्मचारीलगायत सहभागी रहनेछन् ।
चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सीसँग द्विपक्षीय भेटवार्ताका साथै उपराष्ट्रपति हान चङसँग पनि भेट हुनेछ । यस्तै, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसहित विभिन्न ६ देशका सरकार प्रमुखसँग छुट्टाछुट्टै द्विपक्षीय वार्ता हुने बताइएको छ । प्रधानमन्त्री ओलीले भदौ १६ गते गते तियानजिनमा हुने एससीओ प्लस शिखर सम्मेलनलाई सम्बोधन गर्नेछन् ।
प्रकाशित मिति: १४ भदौ २०८२, शनिबार












