पूर्णिमाकै दिन मिथिलामा पितृपक्ष सुरु



काठमाडौं । भदौ शुक्ल पूर्णिमाकै दिन मिथिलामा पितृपक्ष सुरु भएको छ ।

असोज कृष्णपक्षलाई पितृपक्ष मानिए पनि भदौ पूर्णिमाकै दिन देवर्षि पितृ तर्पण दिइने परम्पराअनुसार आज नै पितृपक्षको पूर्वविधि देवतर्पणबाट सुरु भएको हो ।

महोत्तरीको बर्दिबास–२ का पण्डित महेशकुमार झाका अनुसार देवर्षि पितृ तर्पणसँगै पितृपक्ष शुरु भएको मानिने मैथिल परम्परा छ ।

आज कूलदेवता, ग्राम देवता र देवर्षिलाई आमन्त्रण गरी तर्पण दिइएपछि भोलि असोज कृष्णपक्ष प्रतिपदादेखि पक्षभरि आफ्ना दिवङ्गतलाई तर्पण दिने गरिन्छ ।

मिथिलामा सामान्यतया पितृपक्षको तर्पण र श्राद्ध तीर्थमा गरिने चलन छ । आज महोत्तरीका धार्मिक महत्वका नदी र तलाउ तटमा पहिलो दिनको देवर्षि तर्पण दिनेहरूको भिडभाड छ । दशै‌ं, तिहार र छठजस्ता मुख्य पर्वअघि पितृहरूको स्मरण गरिन्छ ।

प्रकाशित मिति: २२ भदौ २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्