अनिश्चितकालिन यातायात बन्दको घोषणा



काठमाडौं। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारबाट उचित शान्ति सुरक्षाको प्रत्याभूति नभएसम्मका लागि उपत्यका लगायत देशभर यात्रुवाहक र मालवाहक सार्वजनिक यातायातका सवारी साधनहरू सञ्चालन नगर्ने भएको छ।

महासंघले आज विज्ञप्ति जारी गरेर जेनजीको प्रदर्शनलाई ऐक्यवद्धता जनाउँदै यस्तो जानकारी दिएको हो।

महासंघले जेनजी समूहले सम्पूर्ण युवा जनशक्तिका जायज मागहरू सम्बोधन गराउने गरि आयोजना गरेको शान्तिपूर्ण प्रदर्शनमा नेपाल सरकारबाट भएको प्रत्यक्ष दमनका कारण देशभर कैयौं युवा जनशक्ति घाइते र १९ जना विद्यार्थीहरू प्रहरी प्रशासनको गोली लागी मृत्यु भएको दुख पनि व्यक्त गरेको छ।

‘यो दुखद घटनाका कारण काठमाडौं उपत्यका लगायत देशभरको जनजीवन प्रभावित भै नेपाल सरकारबाट विभिन्न स्थानमा कर्फ्यू आदेश भएको हुँदा उपत्यका लगायत देशभर संचालित सार्वजनिक यातायात र ढुवानी मालवाहक सवारी साधनहरू संचालन गर्न असहज परिस्थिति सृजना भएकोले नेपाल सरकारबाट उचित शान्ति सुरक्षाको प्रत्याभूति नभएसम्मका लागी उपत्यका लगायत देशभर यात्रुवाहक र मालवाहक सार्वजनिक यातायातका सवारी साधनहरू संचालन नगर्न नगराउन हुन अनुरोध गरिन्छ।’ विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति: २४ भदौ २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्