नयाँ सरकारको नेतृत्वका लागि वार्ता हुँदै, सुशीला कार्की र दुर्गा प्रसाईं जङ्गीअड्डामा
काठमाडौं। अन्तरिम सरकार गठनको विषयमा छलफल गर्न पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जङ्गीअड्डा लगिएको छ ।
नयाँ सरकार गठनका लागि समन्वय गरिरहेको नेपाली सेनाले कार्की र प्रसाईंलाई सुरक्षासहित जङ्गीअड्डा लगिएको स्रोतले जनाएको छ ।
प्रसाईंसँग प्रधानसेनापति अशोकराज सिग्देलले हिजो पनि वार्ता गरेका थिए ।
भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध युवाहरुले गरेको प्रदर्शनमा ३० जनाको ज्यान गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए । ती युवाहरुको माग अनुसार नै ताजा जनादेशका लागि अन्तरिम सरकार गठन प्रक्रिया अघि बढाइएको हो ।
जेनजीबाट प्रस्तावित पूर्वप्रधानन्याायधीश कार्कीलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले समेत समर्थन गरिसकेका छन् । बालेनको उक्त निर्णयमा जेनजी पनि सहमत भएपछि आज सेनाको समन्वयमा नयाँ सरकार गठनका लागि राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल हुँदै छ ।
नेपाली सेनाका प्रधानसेनापति सिग्देलले सबै पक्षको कुरा सुन्ने उद्देश्यले जेनजी युवाका प्रतिनिधिहरु, धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ, दुर्गा प्रसाईं लगायतसँग पनि छलफल गरेका थिए ।
हर्क साम्पाङले पनि सुशीला कार्कीलाई समर्थन रहेको जनाएका छन् । प्रसाईंले देशले निकास पाउने गरी जसको नेतृत्वमा सरकार बने पनि स्वीकार्ने अभिव्यक्ति सार्वजनिक गरेका छन् ।
जेनजी युवाहरुले भर्चुअल माध्यमबाट व्यक्त गरेको मतमा सुशीला कार्कीको नाममा धेरैको समर्थन देखिएको थियो ।
प्रकाशित मिति: २६ भदौ २०८२, बिहिबार
















