आजको मौसम : यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ, असोज १ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ । अरब सागर तथा बङगालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ ।
बागमती र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
कोशी, बागमती र कर्णाली प्रदेशका पहाडी भूभाग र लुम्बिनी प्रदेशका तराईका भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । मधेस प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा बाँकी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
मधेस प्रदेशलगायत कोशी प्रदेश र बागमती प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: १ आश्विन २०८२, बुधबार












