सुशासनको जग बसाल्न सरकार सफल भएको छ : सभापति लामिछाने



काठमाडौँ, १९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भएको बताएका छन् ।

पार्टीका सांसदलाई लक्षित गरी आयोजित डिजिटल प्लेटफर्म ‘पल्स आरएसपी’ र साइबर सुरक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीसँग उनले नागरिकका सुझावलाई आत्मसात् गर्दै सरकार अझ परिपक्व ढङ्गले अघि बढ्ने विश्वास व्यक्त गरे।

सरकारले पहिलो १०० दिनमा नागरिकसँग प्रत्यक्ष सम्बन्धित विषय र सुशासनलाई उच्च प्राथमिकतामा राखेर काम गरेको बताउँदै उनले विकास निर्माण र दूरगामी महत्त्वका विषयमा गरिएको कामको प्रभाव केही समयपछि देखिने बताए।

उनले भने, “सरकारले १०० दिनमा नागरिकसँग सम्बन्धित र सुशासनका विषयमा बढी जोड लगाएर काम गरेको छ। विकास निर्माण र दूरगामी महत्त्वका विषयमा आज गरिएको कामको प्रभाव केही समयपछि देखिँदै जान्छ।”

सरकारले सुशासन र सेवा प्रवाहलाई उच्च प्राथमिकता दिएको बताउँदै उनले सहज रूपमा सरकारी सेवा प्राप्त गर्न सक्ने अवस्थाको सुरुआत भएको बताए।

“सरकारको सुरुआत सकारात्मक र जनहितकेन्द्रित छ,” उनले भने।

प्रकाशित मिति: १९ असार २०८३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्