सात विश्वविद्यालयमा उपकुलपति नियुक्त, त्रिविको नेतृत्वमा प्रा. डा. भोला थापा



काठमाडौँ, १९ असार । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालयसहित सात विश्वविद्यालयमा उपकुलपति नियुक्त गर्नुभएको छ ।

विश्वविद्यालयका उपकुलपति छनोट तथा सिफारिस समितिले सिफारिस गरेका उम्मेदवारमध्येबाट कुलपति शाहले उपकुलपतिहरू नियुक्त गर्नुभएको हो ।

नियुक्तिअनुसार त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा नियुक्त हुनुभएको छ । सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा किसनदत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयमा राजन सुवाल, कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कट्टेल, राजर्षि जनक विश्वविद्यालयमा श्यामनारायण लाभ, पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयमा सुजनबाबु मरहट्टा नियुक्त हुनुभएको छ ।

शिक्षा तथा खेलकुदमन्त्री तथा विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले आज मन्त्रालयमा आयोजित कार्यक्रममा नवनियुक्त उपकुलपतिहरूलाई नियुक्तिपत्र प्रदान गर्नुभयो ।

मन्त्रालयका अनुसार उपकुलपतिहरू खुला प्रतिस्पर्धाबाट छनोट भएका हुन् । उपकुलपति सिफारिसका लागि सहकुलपति पोखरेलको अध्यक्षतामा समिति गठन गरिएको थियो । समितिले विज्ञ नेतृत्वको उपसमिति गठन गरी मूल्याङ्कनपछि उम्मेदवार सिफारिस गरेको जनाएको छ ।

यस वर्ष पहिलो पटक ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३’ अनुसार एकीकृत प्रक्रियामार्फत उपकुलपति नियुक्ति गरिएको मन्त्रालयले जनाएको छ ।

सरकारले गत वैशाख २४ गते त्रिभुवन विश्वविद्यालयसहित आठ विश्वविद्यालयका रिक्त उपकुलपति पदका लागि खुला दरखास्त आह्वान गरेको थियो।

प्रकाशित मिति: १९ असार २०८३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्