जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु
बर्दिया । बर्दियामा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।
ठाकुरबाबा नगरपालिका-९ हात्तीसार बस्ने ४२ वर्षीय सीता खत्रीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो।
शनिबार राति ११ बजे घरदेखि एक किलोमिटर दूरीमा रहेको खेतमा धान हेरेर फर्कने क्रममा हात्तीले महिलामाथि आक्रमण गरेको थियो।
हात्तीले आक्रमण गर्दा महिलाको घटनास्थल मै मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत एवम् सूचना अधिकारी सरोजमणि पौडेलले बताए। शवलाई आइतबार पोस्टमार्टम गरी आफन्तलाई बुझाउने तयारी भइरहेको उनले बताए।
मृतक खत्रीको श्रीमान् चित्रबहादुर खत्री बर्दिया राष्ट्रिय निकुञ्जका हात्तीसारका कर्मचारी हुन्।
प्रकाशित मिति: १२ आश्विन २०८२, आइतबार
















