लागुऔषध तस्करी गर्न दुई महिने छोराको प्रयोग, बाबु-आमासहित तीनजना पक्राउ
झापा । आफ्नै छोराले लगाएको डाइपरभित्र लागुऔषध ब्राउन सुगर भित्राउने बुबा- आमासहित तीनजना प्रहरी फन्दामा परेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा बिहीबार साँझ ५:१५ बजेतिर भद्रपुर नगरपालिका–५ स्थित बसपार्कबाट उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा अटो चालक भारत किसनगञ्ज जिल्ला घर भई हाल बिर्तामोड नगरपालिका-५ बस्ने ३० वर्षीय मोहित आलम, सोही अटोमा सवार उनकी श्रीमती ३२ वर्षीया जेनेतुन खातुन, सोही ठाउँका ३८ वर्षीय मोहम्मद तजरुल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरूले आफ्नै दुई महिनाको छोरा सोहेल आलमलाई प्रयोग गरी भारतको गलगलियाबाट ब्राउन सुगर नेपाल भित्राएका थिए । बिर्तामोडबाट मे १ ह ५०११ नम्बरको अटो लिएर उनीहरू भद्रपुर नाका आइपुगेका थिए । अटो मेची पुलमा राखेर उनीहरू ब्राउन सुगर खरिद गर्न गलगलिया पुगेका थिए ।
त्यहाँबाट खरिद गरेका ब्राउन सुगरको सानो पोकालाई बच्चाले लगाएको डाइपरभित्र लुकाएर ल्याएका थिए । प्रहरीले चेकजाँच गर्दा डाइपरमा प्लास्टिकबाहेक ८ ग्राम ९४ मिलिग्राम ब्राउन सुगर फेला परेको थियो ।
यता वडा प्रहरीले बच्चासहित पक्राउ परेका तीन जनालाई आवश्यक कारबाहीका लागि प्रहरी कार्यालय झापा पठाइसकेको छ।
प्रकाशित मिति: ८ श्रावण २०८३, शुक्रबार







