भागेका कैदीहरूको उच्च निगरानी भइरहेको छ, चाडवाडमा गाउँघरतिर देखिए खबर गर्नू : डिआइजी घिमिरे



काठमाडौं । प्रहरीले जेनजी आन्दोलनका क्रममा देशभरि रहेका कारगारबाट भागेका कैदीबन्दीहरूको उच्च निगरानी भइरहेको जनाएको छ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा देशभरिका कारागारबाट भागेकामध्ये आठ हजार जना कैदी फर्किएका र ६ हजार अझै फरार रहेकाले दसैँ, तिहार, छठलगायतका चाडपर्वको समयमा सुरक्षाका ममलामा नागरिकले पनि सतर्कता अपनाउन नेपाल प्रहरीले अनुरोध गरेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए।

भागेका कैदीहरूमा कोही चोर डाकाहरू पनि छन्। कोही आफूलाई लागेको मुद्दाका विषयमा गाउँमा गएर बदलाको भवना लिनसक्ने भएकाले त्यस्ता व्यक्ति गाउँमा देखिए सम्पर्क गर्न हामीले फोन नम्बर पनि दिएका छौं।

उनले भने- ‘सुरक्षाका ममलामा नागरिकले पनि सतर्कता अपनाउन हाम्रो अनुरोध छ।’

त्यसैगरी उनले गाउँमा बदलाको भवना लिनसक्नेहरूको विवरणसहित सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा पत्रचार गरिएको र उनीहरूले सम्भावित घटना घटाउन सक्ने भएकाले त्यसतर्फ प्रहरी सचेत रहेको प्रवक्ता घिमिरेले बताए।

उनले भने- ‘भागेकामध्येबाट पनि केही कैदीहरू सम्बन्धित जिल्लाका प्रहरीको सम्पर्कमा रहेका र केही हाम्रो सम्पर्कमा रहेका छन् । जो आपराधिक मानसिकताका छन् उनीहरूले गाउँमा बदलाको भवना लिनसक्ने भएकाले प्रहरी निकै चनाखो अवस्थामा रहेको छ ।’

भागेका कैदीबन्दीहरूको खोजी अभियान जारी रहेकाले कैदीबन्दीका बारेमा केही सूचना प्राप्त भएमा नजिकको प्रहरी कार्यालय तथा सुरक्षा निकायमा जानकारी दिनसमेत उनले आग्रह गरे।

प्रकाशित मिति: १२ आश्विन २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्