अर्घाखाँचीमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु, २४ घाइते



काठमाडौं, असोज १३ । अर्घाखाँचीको सन्धिखर्क ९ टारीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्युु भएको छ भने २४ जना घाइते भएका छन् ।

बुटवलबाट गुल्मीको पुर्कोटदह तर्फ जाँदै गरेको लु १ ज ४७२३ नं. को सो जीप सन्धिखर्क–ढोरपाटन सडक खण्डमा आज बिहान दुर्घटना भएको हो ।

दुर्घटनामा गुल्मी मदाने गाउँपालिका–६ पुर्कोटका १० वर्षीय अरुणा थापा र मदाने–७ नेटा खर्कका १३ वर्षीय नारायण पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख दिवस जिसिले जानकारी दिए । उनीहरुको घटनास्थलमै मृत्यु भएको उनले बताए ।

उनका अनुसार सोही घटनामा २४ जना घाइते भएका छन् । घाइते मध्ये चार जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । घाइतेको अर्घाखाँची अस्पतालमा उपचार भैरहेको छ । एकजना घाइतेलाई थप उपचारका लागि बुटवल ‘रिफर’ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १३ आश्विन २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्