नेपाली कांग्रेसको नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. सुरेश आचार्य



काठमाडौं । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा। सुरेश आचार्यलाई नियुक्त गरेको छ ।

कांग्रेसले आज बिहान विज्ञप्ति जारी गरी पार्टीका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले पार्टीको विधानबमोजिम साउन १ देखि लागु हुने गरी डा. आचार्यलाई प्रतिष्ठानको कार्यकारी निर्देशक पदमा नियुक्ति दिएको जानकारी गराएको हो।

सिन्धुलीको सुनकोशी गाउँपालिका–३ बोहोरेटार घर भई हाल भक्तपुरमा स्थायी बसोबास गर्दै आएका डा। आचार्य नेपाली कांग्रेस प्रचार विभागका पूर्व उपप्रमुख, राष्ट्रिय सूचना आयोगका पूर्वप्रमुख सूचना आयुक्त र नेपाल पत्रकार महासंघका पूर्वसभापतिसमेत हुन् ।

कांग्रेस र एमाले गठबन्धन सरकारले आचार्यलाई राष्ट्रिय सूचना आयोगको प्रमुख सूचना आयुक्त बनाएको थियो।

तर रास्वपाका वरिष्ठ नेता प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले पूर्ववर्ती सरकारले गरेका सबै राजनीतिक नियुक्ति खारेज गरेपछि आचार्य राष्ट्रिय सूचना आयोगबाट बिदा भएका थिए।

प्रकाशित मिति: १९ असार २०८३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्