दसैँ नेपाली समाजमा मेलमिलाप र पुन:मिलनकाे पर्व : सभामुख घिमिरे
काठमाडौं १३ असाेज। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले दसैँ नेपाली समाजमा मेलमिलाप र पुन:मिलनको पर्वका रूपमा स्थापित भएको बताउनुभएको छ ।
बडा दसैँ, २०८२ को शुभकामना दिनुहुँदै उहाँले सत्यको विजय, असत्यको पराजय, मेलमिलाप र पुनर्मिलनको प्रतीकको रुपमा रहेको यस पर्वले सबैमा नयाँ उमंग, उत्साह र सद्भावको भाव जागृत गरोस् भनि कामना पनि गर्नुभएको छ ।
दसैँलाई शक्ति, सत्य र सदाचारको विजयको प्रतीकका रूपमा लिइन्छ । यस पर्वमा दश दिनसम्म दुर्गा भवानीको आराधना गर्ने प्रचलन छ । घटस्थापनादेखि सुरु हुने यो पर्व नवदुर्गा माताको पूजाआजासहित सम्पन्न हुन्छ । विजयादशमीको दिन देवी दुर्गाले दानवीय शक्तिमाथि विजय प्राप्त गरेको तथा रामले रावणमाथि जित हासिल गरेको धार्मिक आस्था रहिआएको छ ।
त्यसैले यो पर्वले असत्यमाथि सत्य, अन्यायमाथि न्याय र असुरी शक्तिमाथि दिव्य शक्तिको विजयको सन्देश दिने उहाँको भनाइ छ ।
टाढाटाढा रहेका परिवारजन एकैठाउँमा भेला भई टीका, जमरा र आशीर्वाद आदानप्रदान गर्ने परम्पराले पारिवारिक सम्बन्धलाई अझ सुदृढ बनाउँछ । साथै, दसैंले विभिन्न जातजाति, भाषा र भौगोलिक क्षेत्रका नेपालीहरूलाई साझा संस्कारले एकतामा बाँध्ने कार्य गर्दै आएको छ ।
सभामुख घिमिरेले दसैंको पूर्वसन्ध्यामा नेपाली नवयुवाहरूको विद्रोहका कारण देखिएको अशान्तिलाई शान्तिमा रुपान्तरण गर्न हामी सबैलाई प्रेरणा प्राप्त हुने विश्वास लिनुभएको छ ।
प्रकाशित मिति: १३ आश्विन २०८२, सोमबार












