गिरिबन्धु टि-स्टेटको जग्गा प्रकरणसम्बन्धी फाइल खोल्न गृहमन्त्री अर्यालद्वारा उजुरी आह्वान
काठमाडौं । अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले गिरिबन्धु टि-स्टेटको जग्गा प्रकरणसम्बन्धी फाइल खोल्न उजुरी दिन आह्वान गरेका छन्।
सिंहदरबार परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले गिरिबन्धु टि-स्टेटको जग्गा प्रकरणसम्बन्धी फाइल खोल्न उजुरी दिन आह्वान गरेका हुन्।
मन्त्री आफैँ उजुरी हाल्दै हिँड्न नमिल्ने र लिखित रूपमा राज्य संयन्त्रमा उजुरी आए मात्र प्रक्रिया अगाडि बढ्ने उनको भनाइ छ।
उनले भने- ‘पहिले आदेशले हुन्थ्यो, अहिले कानुनले हुन्छ। जे छ, कानुनबमोजिम हुन्छ। भइरहेको कानुन कार्यान्वयन हुन्छ। हस्तक्षेप कतै पनि हुँदैन। कानुनले आफ्नो कार्य लिन्छ। अब बडो अर्ग्यानिक वेमा हुन्छ। कुनै पूर्वाग्रह राखेर पनि हुँदैन, प्रमाण हेरिन्छ, कानुन हेरिन्छ, उजुरी हेरिन्छ। हाम्रा संयन्त्रहरूले त्यही हेरेर काम गर्दछन्। जहाँ प्रमाण छ, जहाँ कानुनले ठाउँ दिन्छ, त्यहाँ रिजल्ट देख्नुहुन्छ।’
उनले गिरिबन्धु लगायतका प्रकरणमा अख्तियार वा प्रहरी प्रशासन मार्फत उजुरी आउनुपर्नेमा जोड दिए।
लिखित रुपमा उजुरी राज्य संयन्त्रमा आए त्यसविरुद्ध कुनै पूर्वाग्रह राखेर नभइ कानून, प्रमाण, उजुरी हेरेर प्रक्रिया अघि बढाइने उनको भनाइ थियो।
प्रकाशित मिति: २८ आश्विन २०८२, मंगलबार












