इन्धनको मूल्य घटेसँगै सार्वजनिक यातायातको भाडा समायोजन गर्न महासंघको माग
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थको मूल्य घटेसँगै भाडा समायोजन गर्न सरकारसँग माग गरेको छ ।
महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले स्वचालित प्रणालीबमोजिम सार्वजनिक यातायातको भाडा समायोजन गरिदिन सरकारलाई अनुरोध गरेका हुन् ।
गएरातिदेखि लागू हुनेगरी नेपाल आयाल निगमले पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँ, डिजेलरमट्टीतेलको मूल्य प्रतिलिटर ३० रुपैयाँ र ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँले घटाएको छ । इन्धनको मूल्य घटेसँगै सार्वजनिक सवारीको भाडा पनि समायोजन गर्न आफैँले सरकारसँग माग गरेका हुन् ।
सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएकोमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको तर्फबाट सरकारलाई धन्यवाद दिँदै स्वचालित प्रणालीबमोजिम भाडा समायोजन गरिदिन सरकारलाई अनुरोध गर्दछु । उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।
यद्यपी, महासंघका अध्यक्ष सिटौलाले सार्वजनिक यातायातको भाडा निर्धारण गर्दा इन्धनको मूल्यमात्र नभएर सवारीसाधनको सञ्चालन खर्च, मर्मतसम्भार, बीमा, श्रमिकको पारिश्रमिक, अतिरिक्त पाटपूर्जाको मूल्य, बैंकिङ लागत तथा समग्र आर्थिक सूचकलाई वैज्ञानिक आधारमा मूल्यांकन हुनुपर्ने बताएका छन् ।
‘इन्धनको मूल्यवृद्धि हुँदा भाडा बढाउने निर्णय हुने र मूल्य घट्दा समयमै भाडा समायोजन नहुने प्रवृत्तिले यात्रु र व्यवसायी दुवै पक्षमा अन्योल सृजना गर्ने गरेको छ । त्यसैले सार्वजनिक सवारीसाधनको भाडा पनि वस्तुगत आधारमा समयमै समायोजन हुनु आवश्यक छ,’ उनले थप भनेका छन् ।
इन्धनको मूल्यवृद्धि हुँदा भाडा बढाउने र मूल्य घट्दा समयमै भाडा समायोजन नहुने प्रवृत्तिले यात्रु र व्यवसायी दुवै पक्षमा अन्योल सृजना हुने भएकाले वैज्ञानिक र वस्तुगत आधारमा समायोजन हुनु आवश्यक रहेको उनको भनाई छ।
प्रकाशित मिति: १७ असार २०८३, बुधबार












