टी–२० विश्वकप छनोट : नेपाल आज ओमानसँग प्रतिस्पर्धा गर्दै
काठमाडौैं, असोज २९ । आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्समा आज नेपाल ओमानसँग प्रतिस्पर्धा गर्दै छ ।
ओमानमा जारी प्रतियोगिता अन्तर्गत आजको खेल नेपाली समयअनुसार राति ८ः४५ बजे हुनेछ । नेपाल र ओमान दुवै अपराजित टोली हुन् ।
सुपर सिक्समा समान ६–६ अंकसहित ओमान पहिलो र नेपाल दोस्रो स्थानमा रहेका छन् । त्यसैले आज दुवै टोली जितसहित अंक तालिकामा अग्रता कायम गर्न चाहन्छन् ।
विगतमा यी दुई टोलीबीच आठ टी–२० खेल भएका छन् । जसमा नेपालले तीन खेलमा जित निकालेको छ भने पाँच खेल ओमानको पक्षमा गएको छ ।
आजै बिहान ११ः४५ बजे जापान र कतार तथा दिउँसो ४ः१५ बजे यूएई र सामोआबीच खेल हुनेछ । नेपालको अन्तिम खेल शुक्रबार सामओआसँग छ ।
सुपर सिक्सको प्रतिस्पर्धापछि शीर्ष तीन टोली आगामी वर्ष भारत र श्रीलंकामा हुने आईसीसी टी– २० विश्वकपका लागि छनोट हुनेछन् ।
प्रकाशित मिति: २९ आश्विन २०८२, बुधबार












