आज ४५औं विश्व खाद्य दिवस मनाइँदै
काठमाडौं । सरकारले आज ४५औँ विश्व खाद्य दिवस मनाउँदै छ । विश्वव्यापी रूपमा स्वच्छ, पोषणयुक्त सन्तुलित भोजनको महत्वबारे जनचेतना जगाउन यो दिवस मनाउने गरिन्छ ।
यसवर्ष ‘स्वच्छ खाना र सुखद भविष्यका लागि हातेमालो’ भन्ने नारासहित दिवस मनाउन लागिएको छ ।
समारोह मनाउन कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ ।
विभागका महानिर्देशक सञ्जेलले खाद्य वस्तुको प्रदर्शनी, जानकारीमूलक कार्यक्रम, पोस्टर, सन्देशलगायतका सामग्री प्रकाशन तथा प्रसारण गरेर दिवश मनाउने तयारी गरिएको जानकारी दिए ।
दिवसका अवसरमा राष्ट्रिय र अन्तरराष्ट्रिय गैरसरकारी संघ संस्थाहरूसँगको समन्वयमा प्रचारप्रसार, नारामा आधारित अन्तरक्रिया, लेख–रचना प्रकाशन तथा अन्य विभिन्न कार्यक्रम गरिने छ । विभागले प्रत्येक वर्ष अक्टोबर १६ मा विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाउने गरेको छ ।
सन् १९७९ नोभेम्बरको संयुक्त राष्ट्र सङ्घको २०औं साधारणसभाले सङ्गठनको स्थापना भएको दिनका अवसरमा खाद्य दिवस मनाउने प्रस्ताव पारित गरेको स्मरणमा सन् १९८१ देखि यो दिवस मनाउँदै आइएको छ ।
प्रकाशित मिति: ३० आश्विन २०८२, बिहिबार












