तिहार अवधिमा कस्तो रहला देशभरको मौसम ?
काठमाडौं, कार्तिक ३ । यस वर्ष तिहारको समयमा मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको देखिएको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै यस्तो जानकारी दिएको हो । महाशाखाका अनुसार पश्चिमी वायुको सामान्य प्रभाव भने रहनेछ ।
सो प्रभावका कारण देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने र एक–दुई स्थानमा फाटफुट वर्षा हुन सक्ने जनाइएको छ । साथै, उच्च हिमाली भूभागका केही भागमा हल्का वर्षा वा हिमपातको समेत सम्भावना छ ।
कार्तिक ३ गते लक्ष्मीपूजाको दिन देशका अधिकांश भूभागमा मौसम मुख्यतः सफा रहने छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा भने आंशिक बदलीसँगै एक÷दुई स्थानमा फाटफुट वर्षा हुन सक्छ ।
औँसीका दिन कार्तिक ४ गते पनि यस्तै मौसम रहँदै पहाडी क्षेत्रमा आंशिक बदली र अन्य स्थानमा सफा मौसम रहनेछ । कार्तिक ५ गते गोवर्धन पूजाका अवसरमा पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने र कोशी तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ ।
भाइटीका अर्थात् कार्तिक ६ गते देशका अधिकांश भूभागमा मौसम सामान्यतया सफा रहने छ । कोशी, मधेश र अन्य पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने अनुमान गरिएको छ ।
प्रकाशित मिति: ३ कार्तिक २०८२, सोमबार












